Prakash Adhikari March 3, 2025
अछाम, १९ फागुनः पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ । विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा जिल्लास्थित सरकारी कार्यालय रहेको दरबार ध्वस्त भएको थियो ।
सोमबार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त दरबारको उद्घाटन गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत गृह मन्त्रालयलाई भवन हस्तान्तरण गर्नुभयो । सहरी विकास मन्त्रालय मातहत दरबार निर्माण भएको हो ।
उपप्रधानमन्त्री सिंहले समग्र अछामको पहिचान बोकेको ऐतिहासिक दरबारलाई सदुपयोग र आउने पिढिलाई यसको महत्वबारे जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले दरबारको विकास र बाँकी संरचना निर्माणका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
दरबारको रु दुई करोड ४८ लाखमा मा पुनःनिर्माण भएको हो । तीन तला रहेको यस दरबारमा काठको बढी प्रयोग गरी कलात्मक बनाइएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरालगायतले मन्तव्य राखेका थिए ।
Share Now