Prakash Adhikari March 5, 2025

काठमाडौं, २१ फागुन । अफ्रिकी राष्ट्र युगान्डा हुने ‘वुमन्स डे कप टी २० क्रिकेट’ खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले टोलीलाई बुधवार बिदाइ गरेका हुन।

सचिव खड्काले विश्व कप छनोट अगाडि तयारीको रुपमा नेपाली महिला टोलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बढी भन्दा बढी एक्सपोजर उपलब्ध गराउने योजना अनुरुप यो श्रृखला रहेको बताए।

उनले नेपाली महिला टोलीलाई अहिले मुल्याङ्कन गर्न थालिएको र टोली अहिले पुर्ननिर्माणको चरणमा रहेको पनि बताए। उनले टोलीलाई विजयको लागि शुभकामना दिए।

प्रमुख प्रशिक्षक मनोज कटुवालले छोटो समयको प्रशिक्षणमा फिटनेस र फिल्डिङमा नै केन्द्रीत भएको बताए। उनले क्यानले उपलब्ध गराएको ट्रेनरले पनि टोलीलाई धेरै सहयोग पुगेको जानकारी दिए।

उनले यसअघि टियु मैदानमा त्रिकोणात्मक श्रृखलामा ६ खेलमा हारेपनि यो पटक जित्नेमा टोली विश्वस्त रहेको बताए। कटुवालले अनुभवी र युवाको सम्मिश्रणले यो पटक टोली मजबुत बनेको पनि बताए।

बिदाइ समारोहमा कप्तान इन्दु बर्माले राम्रो क्रिकेट खेलेर फर्किने बताइन्।

यो पटक टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।

यो पटक नियमित तथा अनुभवी खेलाडी सीता राना मगरसँगै कविता कुँवरचोटको कारण टिममा नरहेको प्रशिक्षक कटवलाले बताए।

फागुन २४ देखि चैत ३ गतेसम्म हुने (मार्च ८ देखि १६ सम्म) वुमन्स डे कपमा नेपालसहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागिता रहनेछ।

यी चार राष्ट्रले डबल राउन्ड रोबिनको आधारमा खेल्ने छन्। शीर्ष दुई टोलीले फाइनल खेल्ने छन्। नेपालले पहिलो खेल शनिवार नामिबियासँग खेल्ने छ ।

Share Now