
इलाम, २४ फागुन । सशस्त्र प्रहरी बला(एपीएफ) फुटबल क्लबले इलाममा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कप उपाधि जितेको छ।
नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबलाई शनिवार २ १ ले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।
एन्फा महिला लिग विजेता समेत रहेको एपीएफका लागि गीता राना र सविता राना मगरले एक एक गोल गरे भने उपविजेता आर्मीका लागि विमला चौधरीले गोल गरिन् ।
खेलको २५ औं मिनेटमा गीताले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन ।रश्मिकुमारी घिसिङलाई आर्मीका खेलाडीले पेनाल्टी बक्समा फाउल हानेपछि एपीएफले पेनाल्टी पाएको हो ।
खेलमा एपीएफकी सविताले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको क्रसमा सविताले गोल गरिन् । प्रतिस्पर्धामक खेलमा आर्मीकी विमलाले ६९औं मिनेटमा गोल गर्दै अन्तर घटाइन् । तर बाँकी समयमा आर्मीले थप गोल गर्न सकेन र उपाधि एपीएफले चुम्यो ।
एपीएफ नेपाल पुलिस क्लब र आर्मी आयोजक ओएसिसलाई हराउँदै फाइनलमा पुगेका थिए।
विजेता एपीएफले ४ लाख र आर्मीले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । फागुन १७ गते सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो।