
काठमाडौं, ३० असार। आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसी र सरकारकाबीचमा संवाद हुन नसकिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेता र डाक्टर केसी तर्फबाट विगतमा सरकारसँग वार्ता गरेका केही सदस्यबीच अनौपचारिक छलफल सुरु भएको बताइएको छ।
शुक्रवार र शनिवार भएका उक्त छलफलमा कुनै ठोस निष्कर्ष निस्कन नसकेपनि डाक्टर केसीको अनशन तोडाउने र उनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा छलफल भएको छलफलका सहभागीको भनाइ छ।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै जुम्लामा गएर आमरण अनशन बसिरहेका डाक्टर केसीको स्वास्थ्य दिन प्रतिदिन कमजोर बन्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।
आलोचना
अनशन बसेको १५ दिन पुग्दासम्म पनि सरकारका तर्फबाट वार्ताको कुनै ठोस प्रयास नभएको भन्दै आलोचनाहरू भइरहेका छन्।
अनशनरत डाक्टर केसी काठमाण्डू आएपछि मात्रै छलफल हुनसक्ने सरकारी भनाइहरू आइरहेका थिए।
तर सत्तारुढ दलकै एकजना शीर्षस्थ नेता र आफूहरूबीच अनौपचारिक छलफल सुरु भएको विगतमा डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्दै आएका डाक्टर अभिषेकराज सिंहले बताए।
अनौपचारिक संवाद सुरु भएको छ। शुक्रवार र शनिवार हामी उहाँसँग बस्यौं। तर सकारात्मक परिणाम केही निस्किएको छैन।
डा. अभिषेकराज सिंह , डाक्टर केसीका सहयोगी
उनले भने, “अनौपचारिक संवाद सुरु भएको छ। शुक्रवार र शनिवार हामी उहाँसँग बस्यौं, तर सकारात्मक परिणाम केही निस्किएको छैन।”
तर उनले ती नेताको नाम भने सार्वजनिक गर्न चाहेनन्।
शीर्षस्थ मध्येका एकजना नेता रहेको सिंहले बताए।
उक्त छलफल डाक्टर केसीसँगको सल्लाह अनुसार नै भइरहेको उनले बताए।
प्रस्ताव
नेपाल कम्युनिष्ट पार्टीका एकजना नेताले पनि डाक्टर केसीपक्षसँग अनौपचारिक छलफल भएको पुष्टि गरे।
उनले पनि ठोस निकास भने निस्किन नसकेको जनाएका छन्।
छलफलमा १० वर्षसम्म काठमाण्डू उपत्यकामा मेडिकल कलेज खोल्न नहुने विषयमा लचिलो बनिदिन ती नेताले आग्रह गरेको जनाइएको छ।
डाक्टर केसी पक्षका सदस्यले भने हाल संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकलाई फिर्ता लिनुपर्ने अडान राखेको जनाएका छन्।
विगतको चिकित्सा शिक्षा अध्यादेशका महत्त्वपूर्ण भनिएका प्रावधान नै हटाएर नयाँ विधेयक संसदमा दर्ता गरिएको भन्दै डाक्टर केसीले आपत्ति जनाउँदै आएका छन्।
निकास
तस्वीर कपीराइटBISHAD DAHAL
अध्यादेश अनुरूपकै विधेयक संसदमा दर्ता गरिदिएमा दुवै पक्षबीच औपचारिक सम्वादको वातावरण बन्ने माथेमा कार्यदलका संयोजक डाक्टर केदारभक्त माथेमाको भनाइ छ।
उनले भने, “अहिले त दुई पक्षीय संवाद गर्न गार्हो भयो। त्यसैले पुरानै अध्यादेश अनुरूपको विधेयक संसदमा लैजाने हो भने डाक्टर केसीले पनि अनशन छोड्नु हुन्छ। त्यसपछि वार्ता गरेर समाधान खोज्न सकिन्छ। त्यसपछि विधेयकलाई संसदमा अगाडि बढाउने आफ्नो प्रक्रिया छँदैछ।”
डाक्टर गोविन्द केसीका मागहरुलाई सम्बोधन गर्न सरकारलाई दबाब दिन भन्दै शनिवार पनि राजधानी काठमाण्डूमा प्रदर्शनहरू भएका छन्।
माथेमा कार्यदलको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयक बनाउनुपर्ने प्रदर्शनकारीहरूले माग गरेका छन्।
(बीबीसीबाट)