देउखुरी (दाड.), १ चैत्र । ललितनारायण राजवंशीले ६ विकेट लिएपछि नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ ।
विभागीय डर्बीमा शुक्रवार एपिएफ क्लबलाई २ विकेटले पराजित गर्दै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । ९५ रनको झिनो लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
पुलिसको जितमा ओपनर कुशल भुर्तेलले ५७ बलमा २ छक्कासहित सर्वाधिक ३१ रन जोडे । गुलशन झाले २० बलमा नट आउट १२ रन जोडे ।
गुलशनले चौका प्रहार गर्दै खेल समाप्त गरेका थिए । अर्जुन साउद ११ र रशिद खान १० रनमा आउट भए ।
एपिएफका भुवन कार्कीले ३, कप्तान रोहित पौडेल र अभिषेक गौतमले समान २ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।
त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर एपिएफले ब्याटिङको निर्णय लिएकोमा २७.४ ओभरमा ९४ रनमा समेटियो ।
एपिएफका लागि सन्दीप जोराले सर्वाधिक २९ बलमा ४ चौकासहित २६ रन जोडे । ओपनर लोकेश बम २४ बलमा ३ छक्काको सहयोगमा २२ रन जोड्दै आउट भए ।
आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन जोडे । पहिलो र दोस्रो खेलमा कम रनमा समेटिएका कप्तान रोहितले यो खेलमा पनि खास योगदान दिन सकेनन् । राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहितले ३ खेलमा गरेर जम्मा २५ रन जोडेका छन् ।
प्लेयर अफ द म्याच समेत भएका पुलिसका ललितले ७.४ ओभरमा १८ रन खर्चिएर ६ विकेट लिए । कुशल, करण केसी, सागर ढकाल र गुलशनले समान १ विकेट लिए ।
लगातार तेस्रो जित हात पारेको पुलिस ६ अंकका साथ दोस्रो स्थानमा छ । पुलिसले पहिलोमा लुम्बिनी र दोस्रो खेलमा कोशीलाई पराजित गरेको थियो ।
तेस्रो खेलमा पहिलो हार बेहोरेको एपिएफ ४ अंक सहित तेस्रो स्थानमा छ । एपिएफले यसअघि मधेश र बागमतीलाई हराएको थियो ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिंग राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल हुनेछ । पुलिस प्रतियोगिताको गत संस्करणमा अपराजित रहँदै च्याम्पियन बनेको थियो ।


















