
लण्डन(संयुक्त राज्य अमेरिका),१ साउन (बीबीसी) । ब्रिटिश सेनाले गोर्खा ब्रिगेडमा सन् २०२० सम्ममा महिलाहरूलाई पनि भर्ती गर्ने घोषणा गरेको छ।
नेपालीहरू दुई सय वर्षभन्दा अघिदेखि ब्रिटिश गोर्खा फौजमा सहभागी हुँदै आएका छन्। यो अवधिमा महिलाहरूलाई पनि लडाकु सैन्यका रूपमा भर्ती गर्न लागिएको यो पहिलो अवसर भएको बताइन्छ।
भर्तीका लागि उनीहरूका निम्ति छुट्टै छनोट प्रक्रिया बनाइएको छैन।
त्यसैले महिलाहरूले पनि पुरुषहरूले जस्तै नै कठिन शारीरिक परीक्षाहरूमा उत्तीर्ण हुनुपर्नेछ।
‘उचित’
बीबीसी नेपाली सेवालाई दिएको लिखित जवाफमा ब्रिटेनका रक्षामन्त्री ग्याभिन विलियम्सनले ‘महिलाहरूले सो सर्वोत्कृष्ट ब्रिगेडमा सेवा गर्ने अवसर पाउनु उचित भएको’ बताएका छन्।
ब्रिटिश सेनाका एकजना वरिष्ठ अधिकारी एवम् गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनन्ट जनरल निक पोप, सीबीईले यो निर्णयले ब्रिटिश सेनाको खुलापन र विविधता प्रतविम्बित गर्ने बताए।
बीबीसी नेपाली सेवालाई उपलब्ध उनको टिप्पणीअनुसार यो नीति महिलाहरूलाई पनि स्थलगत लडाइँमा प्रत्यक्ष सहभागी हुने अवसर दिने ब्रिटिश सरकारको निर्णय अनुरूप नै छ।
“ब्रिगेड अफ गुर्खाज सन् २०२० सम्ममा महिला आवेदकहरूका लागि पनि खुल्ला हुनेछ,” उनले भने।
योग्यता
छनोट प्रक्रियामा सहभागी हुन आवेदकको तौल ५० केजी र उचाइ १५८ सेन्टिमिटर (पाँच फुट एक इन्च) बढी हुनुपर्छ।
उनीहरू आठ चोटि ‘अन्डर्आर्म हीभ’ गर्न सक्षम पनि हुनुपर्छ।
छनोटका लागि आवेदक महिलाहरूले २५ केजी बालुवा डोकोमा बोकेर पाँच किलोमिटर उकालो दौडिनुपर्नेछ।
भर्ना प्रक्रिया पोखरामा हुनेछ। छानिएका आवेदकहरूले ब्रिटेनको नर्थ योर्कशरस्थित क्याट्रिकमा १० हप्ता तालिम लिनेछन्।
इतिहास
सन् १८१५ मा नेपालमा आक्रमण गर्दा ठूलो क्षति बेहोरेपछि ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच एउटा सम्झौता भयो। त्यसअनुसार नेपालीहरू पनि ब्रिटिश फौजमा भर्ती हुन पाउने भए।
सन् १९४७ मा भारत विभाजित भएपछि नेपाल, भारत र ब्रिटेनबीच अर्को सम्झौता भयो। त्यसपछि भारतमा भएका चारवटा गोर्खा रेजिमेन्टहरू ब्रिटिश सेनामा सारिए।
तिनै रेजिमेन्टहरू मिलाएर ब्रिग्रेड अफ गुर्खाजको गठन भयो।
सङ्ख्या घट्दो
द्वितीय विश्वयुद्धका बेला गोर्खा सैनिकको सङ्ख्या सर्वाधिक अर्थात् एक लाख बाह्र हजार थियो।
प्रथम र द्वितीय विश्वयुद्धमा दुई लाख ३० हजार भन्दा बढी गोर्खा सैनिकहरू सहभागी भएका बताइन्छ।
इन्च लामो खुकुरी बोक्छन्।

तर पछि उनीहरूको सङ्ख्या घट्यो।
अहिले झन्डै तीन हजार गोर्खा सैनिक सेवामा छन्।
युद्धभूमिमा जाँदा आधुनिक हतियारबाहेक अहिले पनि उनीहरू परम्परागत हतियार १८ इन्च लामो खुकुरी बोक्छन्।