Prakash Adhikari July 17, 2018

काठमाडौं, १ साउन (बीबीसी) । भारत हुँदै नेपालको सीमासम्म जलमार्गमार्फत् साना आकारका पानीजहाज सन् २०२० भित्रै आउन सक्ने अधिकारीहरूले दाबी गरेका छन्।

भारतले आफ्ना नदीहरूमा अभियानकै रूपमा जलमार्गहरू विकास गरिरहेकाले वीरगन्ज र विराटनगर दुवै स्थानबाट करिब डेढ सय किलोमिटर पर स्टेशन निर्माण आगामी वर्षमै सकिने र लगत्तै त्यो नेपालको त्रिवेणीसम्म विस्तार हुने जानकारी भारतीय अधिकारीहरूले दिएको उनीहरूले बताएका छन्।

प्रचुर सम्भावना

नेपाल र भारतबीच अन्तर्देशीय जलमार्ग विकासबारेको सोमवार काठमाण्डूमा सम्पन्न दुईदिने छलफलमा नेपालका कोशी र नारायणी नदीमा जलमार्गको विकास गर्ने सम्भावना प्रचुर देखिएको अधिकारीहरूले बताएका छन्।

भारतले आफ्नो जलमार्ग निर्माणको राष्ट्रिय अभियानअन्तर्गत गङ्गा नदीमा साहिबगन्ज भन्ने ठाउँमा सन् २०१९ को मार्चसम्ममा र कालुघाटमा जुनसम्ममा पानीजहाजको स्टेशन बनाइसक्ने योजना बनाएको छ।

साहिबगन्ज र कालुघाट विराटनगर तथा वीरगन्जबाट डेढ-दुई सय किलोमिटर पर रहेको बताइन्छ।

जलमार्गबारे वार्ता
कोलकाता नजिकैको हल्दिया बन्दरगाहसँग ती दुवै स्टेशन जलमार्गबाट जोडिनेछन्। हल्दिया नेपाली सीमाबाट करिब साढे आठ सय किलोमिटर पर रहेको छ।

ती स्टेशन बनेपछि भारतले जलमार्गलाई अझै विस्तार गरेर नेपाली सीमाको छेवैमा ल्याइपुर्‍याउने हुनाले अब नेपालमा पनि पानीजहाजमार्फत् ढुवानी प्रस्ट सम्भव देखिएको सोमवार सकिएको वार्तामा नेपाली टोलीको नेतृत्व गरेका जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव माधव बेल्वासेले बताए।

उनले भने, “यो कुनै सपनाको विषय होइन। यो गर्न सकिने विषय छ। त्यसैपनि साढे आठ सय किलोमिटरको दूरी अर्को वर्ष डेढ सयको हाराहारीमा झरिसक्छ। त्यसपछि सन् २०२० को जनवरीदेखि हामीसँग यति पूर्वाधार भइसक्छ कि सानातिना जहाज नेपालको त्रिवेणीसम्म हामी ल्याउन सक्छौँ।”

गहिराइ

नेपाली नदीहरूमा जलमार्ग विकासको प्राविधिक र आर्थिक सम्भाव्यताबारे समेत छलफल भएको उक्त बैठकले चाँडै नेपाली टोलीलाई भारतको भ्रमण गराएर विस्तृत जानकारी दिने अनि भारतीय प्राविधिक टोली पठाएर अध्ययन गर्ने सहमति गरेको छ।

कर्णाली
हालसम्मको अध्ययनमा नेपाली नदीमा विशाल पानीजहाज ल्याउन मिल्ने गहिराइ नभएको तर साना खालका जहाज भने आउन सक्ने देखिएको बेल्वासेले बताए।

“गहिराइका कारणले गर्दा नेपालमा भयङ्कर ठूल्ठूला जहाज ल्याउन त सम्भव देखिँदैन। तर अहिलेको प्रविधिले डेढ मिटरसम्मको गहिराइमा ३०० मेट्रिक टन क्षमताका साना जहाज आउन सक्छन्,” बेल्वासेले बताए।

ढुवानी ‘सस्तो’
व्यापारीहरूले अन्तर्देशीय जलमार्ग बन्न सके ढुवानी भाडा उल्लेखनीय रूपमा घट्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घको स्थल यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी भन्छन्, “सडक ढुवानीभन्दा रेलवे ढुवानी ४० प्रतिशतले सस्तो हुन्छ भने रेलवेभन्दा जलमार्गमार्फत् हुने ढुवानी ३० प्रतिशत सस्तो हुन्छ। तीन सय मेट्रिक टनको सानो आकारको जहाजमै आए पनि त्यो हाम्रा लागि निकै फाइदाको विषय हो।”

तर ढुवानीमा हुने त्यस्तो फाइदा लिनुअघि दुई देशबीच विद्यमान व्यापार र पारवाहन सहमतिहरूलाई परिमार्जन गरी जलमार्ग पनि त्यसमा समावेश गरिनु पर्ने बताइन्छ।

Share Now

Leave a comment.