Prakash Adhikari March 18, 2025

कास्की, ५ चैतः गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले चुमेको छ ।

‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गण्डकी प्रदेश ह्याण्डबल सङ्घको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै आर्मीले उपाधि चुमेको हो । सुरुमा २७–२५ को अग्रतामा रहेको गण्डकीले पछि लय गुमाउँदा आर्मी डिफेन्स लाइनलाई बलियो बनाउँदै विजेता बन्न सफल भयो ।

आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए । उपाधिसँगै आर्मीले नगद रु एक लाख हात पारेको छ । उपविजेता गण्डकीले रु ५० हजार प्राप्त ग¥यो । यस्तै एपिएफ क्लबले तृतीय हुँदै रु ३० हजार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । यस्तै, उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली र एपिएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट खेलाडीले जनही रु पाँच हजार र ट्रफी पाएका छन् ।

च्याम्पियन टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यही चैत ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, दुई विभागीय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब गरी सात टोलीको सहभागिता रहेको थियो ।

Share Now