
देउखुरी(दाड.), ६ चैत्र । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा मधेश प्रदेश टिमले त्रिभुवन आर्मी क्लब टिमलाई पराजित गरेको छ ।
मधेशले आर्मीलाई ३ विकेटले हराएको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पीएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश च्याम्पियन भएको थियो ।
आजको खेलमा आर्मीले दिएको २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडे । उनले ४८ बलको सामना गर्दै ७ चौका प्रहार गरे ।
रुपेश सिंहले २० बलमा २ चौका र २ छक्काको सहयोगमा नट आउट ३८ रन जोडे । रुपेशले आठौं विकेटका लागि निखिल सिंहसँग मिलेर ५० रनको नट आउट विजयी साझेदारी गरे । निखिल २६ बलमा १ चौकाको सहयोगमा १४ रनमा नट आउट रहे ।
हरिशंकर साह र पवन सरार्फ समान ३७ तथा शैलेन्द्र साह १५ रनमा आउट भए । आर्मीका लागि नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २ विकेट लिए ।
त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो ।
आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडेका थिए । शतक बनाउँन ११ रनले चुकेका भीमले १ सय २६ बलको सामना गर्दै ४ चौका प्रहार गरेका थिए । सन्तोष कार्की ५३ बलमा ३ चौकाको सहयोगमा ३३ रन जोड्दै आउट भए ।
विवेक यादव १६, तृत राज दास १४, कप्तान विनोद भण्डारी ११ तथा बसिर अहमद १० रनमा आउट भए । कुशल मल्ल २४ र नरेन साउद ८ रनमा नट आउट रहे ।
मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
प्रतियोगितामा आर्मीले पहिलो हार बेहोरेको छ । खेलेको ५ खेलमा अपराजित रहँदै दोस्रो स्थानमा रहेको आर्मीको यस संस्करणको पहिलो हार हो । हार पछि पनि पनि आर्मी ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।
विजयी मधेशले पाँचौ खेलमा दोस्रो जित हात पारेको छ ।