
काठमाडौँ, ९ फागुन:राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्व पानी दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । उहाँहरुले आफ्नो शुभकामना सन्देशमा ताजा पानीको महत्व उल्लेख गर्दे ताजापानीको स्रोतको रुपमा रहेका हिमनदीहरुको संरक्षण गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा उत्पन्न हुनसक्ने जलसङ्कटको चुनौतीलाई दृष्टिगत गर्दै भूमिगत जलस्रोतको पुनर्भरणका लागि जलाधार क्षेत्रको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व पानी दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण एवं सहरी क्षेत्रमा वर्षात्को पानी पुनर्भरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको छ ।
“प्राचीन एवं आधुनिक प्रविधिको मिश्रण गरी जलाशययुक्त योजनाको तर्जुमा गर्न आवश्यक छ”, राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ । पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको, जीवको उत्पत्ति नै पानीभित्र भएको र प्राचीन मानव सभ्यताहरू नदीकिनारमा विकास भए पनि वर्तमानमा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण चुनौतीपूर्ण बनेको सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ, “भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पारिस्थितिकीय प्रणालीलाई दिगो र नदीको बहावलाई व्यवस्थित बनाउन तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँगै सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पु¥याउँछ ।” उहाँले बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भइरहेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
“भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाको कारण पुनर्भरणमा अवरोध उत्पन्न हुँदा जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको छ । अव्यवस्थित मानव बस्ती र बढ्दो औद्योगीकरणका कारण भूमिगत जलस्रोत प्रदूषित हुँदै गएको छ ”, सन्देशमा भनिएको छ ।
राष्ट्रपतिले जलस्रोत र नदी प्रणालीको संरक्षण गर्दै समयमै पूर्वसूचना प्रणालीको मद्दतबाट प्राकृतिक विनास तथा जनधनको क्षति न्यूनीकरण गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।
पानीको महत्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउन थालिइएको हो । यसवर्ष ‘हिमनदी संरक्षण’ नाराका साथ आज देशका वभिन्न भागमा चेतनामूलक विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
उहाँले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
“पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,” उहाँले भन्नुभएको छ ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग पुग्दछ ।
सन् २०२५ मा यो दिवसको नारा ‘ग्लेसियर प्रिजर्भेसन (हिमनदी संरक्षण)’ रहेको छ ।
उपराष्टपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न हुने बताउनुभएको छ । त्यसैगरी, पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको सहभागितामा कमी, माटो क्षयीकरणलगायतले पनि पानीको सङ्कट गहिरिँदै गएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “पानीको अपर्याप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई सङ्कटमा पार्न सक्ने छ, नेपालमा पानीको स्रोतको स्तर तीव्र रूपमा घट्दो छ ।”