
बेनी (म्याग्दी), १० चैत : मुस्ताड.,म्याग्दी र बाग्लुड.का लेकमा हिमपात र तल्ला भेगमा हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।
हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।
यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि हिमपात हुन थालेको छ । हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।
जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् ।
त्यस्तै बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा पनि शनिबार बाक्लो हिमपात भएको छ । हिमपातले त्यहा पनि किसानहरुको दैनिकीमा खुसी ल्याएको छ ।
यता मुस्ताङको थासाङ गाउँपालिका–५ देखि उपल्लो मुस्ताङसम्म शनिबार दिउँसो हिमपात भएको छ । हिमपात पश्चात् मुस्ताड.का गाउँ र ठाउँहरु झन मनमोहक देखिएका छन् । शनिवार दिउँसो करिब ३ बजेदेखि पर्न सुरु भएको हिमपातले मुस्ताङका कृषक खुसी भएका छन् ।
–––