
टोकियो(जापान), १ साउन (बीबीसी) ।, १ साउन (बीबीसी) । युरोपेली सङ्घ र जापानले विश्वकै सबभन्दा ठूलो मध्येको एक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।
उनीहरूबीच भएको सहमतिले विश्वको कुल गार्हस्थ उत्पादनको करिब एकतिहाइ अनि ६० करोड जनसङ्ख्यालाई समेट्छ।
ईयूबाट जापानमा सबैभन्दा धेरै दुग्धजन्य पदार्थहरू निर्यात हुन्छन् भने जापानबाट कारहरू ठूलो मात्रामा युरोप पठाइन्छन्।
मार्गनिर्देश
अमेरिकाले सामानका आयातमा लाग्ने करको दर बढाउँदै गर्दा त्यो भन्दा भिन्न जापान र युरोपले कर छुटका सहमति गरेका हुन्।
युरोपेली आयोगका प्रमुख याँ क्लउड यङ्करले स्वतन्त्र व्यापारको सहमतिबाट दुवै पक्षको जित भएको बताए।
यङ्करले भने, “आजको सम्झौताले हाम्रा सीमाभन्दा धेरै पर पनि प्रभाव पर्नेछ।”
भविष्यको स्वतन्त्र र निष्पक्ष व्यापारबारे यो सम्झौताले मार्गनिर्देश गर्ने उनले बताए।
फरक धार
अठार महिनाअघि अमेरिकाले जापान र अन्य एशियाली देशहरूसँग ट्रान्स-प्यासिफिक पार्टनर्शिप भनिने स्वतन्त्र व्यापार सम्झौताबारे छलफल गरेको थियो।
आजको सम्झौताले हाम्रा सीमाभन्दा धेरै पर पनि प्रभाव पर्नेछ
याँ क्लउड यङ्कर, युरोपेली आयोगका प्रमुख
तर डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि पहिलो कदमस्वरूप उनले अमेरिकालाई उक्त सम्झौताबाट बाहिरिएको घोषणा गरे।
त्यसपछि जापान र ईयूबाट अमेरिकामा निर्यात हुने स्टील लगातय थुप्रै सामानमा कर लगाउने ट्रम्पले निर्णय गरे।
विश्वको सबभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र ईयूका कम्पनीहरूले हरेक वर्ष विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानमा एक सय अर्ब डलरभन्दा बढी मूल्यका वस्तु तथा सेवा निर्यात गर्दछन्।
यो नयाँ सम्झौताले ईयू देशबाट जापानमा कृषिजन्य वस्तु अनि जापानबाट ईयूमा मोटरकारको व्यापार गर्नेलाई फाइदा हुने बताइएको छ।
सो सम्झौतालाई युरोपेली संसद् र जापानी सभाले अनुमोदन गर्नुपर्नेछ।
जापानका एक जना मन्त्रीले विश्वमा संरक्षणवाद हावी हुँदै गएको बेला यो सम्झौताले स्वतन्त्र व्यापार प्रतिको प्रतिबद्धता झल्काउने बताए। उनको सङ्केत अमेरिकी प्रशासनका पछिल्ला कदमप्रति रहेको ठानिएको छ।