Prakash Adhikari July 18, 2018

 

ह्वाइटहाउस,वाशिंटन(संयुक्त राज्य अमेरिका), २ साउन (बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायहरूको निष्कर्ष स्वीकारेका छन्। एक दिनअघि त्यो मान्न उनी तयार थिएनन्।

सोमवार प्रस्ट रुपमा आफ्ना कुरा राख्न नसकेको उल्लेख गर्दै ट्रम्पले अमेरिकी चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्न खोजेको बताए।

फिनल्याण्डको हेलसिन्कीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्तापछि ट्रम्पले दिएको अभिव्यक्तिको अमेरिकी नेताहरूबाट चर्को आलोचना भएको थियो।

यहाँसम्म कि ट्रम्पकै केही साझेदारहरूले आफ्नो अडानबारे स्पष्ट पार्न उनलाई आग्रह गरे।

‘पूर्ण विश्वास’
पछिल्लो अभिव्यक्तिमा चाहिँ ट्रम्पले अमेरिकी गुप्तचर निकायहरूप्रति आफ्नो ‘पूर्ण विश्वास र समर्थन’ रहेको बताएका छन्।

पुटिनसँगको भेटवार्तापछि सोमवार आयोजित एउटा संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले एउटा प्रश्नको जवाफ दिएपछि विवाद शुरू भएको थियो।

ट्रम्प र पुटिन
ह्वाइट हाउसले सो पत्रकार सम्मेलनमा गरिएको एउटा सवालजवाफको अंश राखेको छ।

के भनेका थिए?
पत्रकारः राष्ट्रपति पुटिनले सन् २०१६ को चुनावमा रुसले हस्तक्षेप गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। रुसले हस्तक्षेप गरेको सबै अमेरिकी गुप्तचर निकायको निष्कर्ष छ।

मेरो पहिलो प्रश्न- तपाईँलाई चाहिँ कसले हस्तक्षेप गरे जस्तो लाग्छ?

ट्रम्पः धेरै मानिसहरू म कहाँ आउँछन्, उनीहरू भन्छन् रुसले त्यो गरेको हुनुपर्छ। मसँग राष्ट्रपति पुटिन हुनुहुन्छ। उहाँले रुसले त्यसो नगरेको भन्नुभयो। म यसो भन्छुः रुसले त्यसो गर्नुपर्ने कुनै कारण म देख्दिनँ।

अहिले के भन्छन्?
अहिले आएर आफ्नो भाषण हेरेको र त्यसबारे प्रस्ट पार्नुपर्ने आफूले महसुस गरेको ट्रम्पले बताएका छन्।

उनले भने, “मेरो अभिव्यक्तिको एउटा वाक्य यस्तो हुनुपर्थ्योः म किन कुनै कारण देख्दिनँ र? अथवा रुस किन हुनसक्दैन।”

ट्रम्पले अगाडि थपे, “रुसले सन् २०१६ को चुनावमा हस्तक्षेप गरेको भन्ने हाम्रा गुप्तचर निकायहरूको निष्कर्षलाई म स्वीकार गर्दछु। अरु मानिस पनि हुनसक्छन्। त्यहाँभन्दा बाहिरका थुप्रै मानिस पनि हुनसक्छन्।”

सोमवारको भेटवार्तापछि पुटिनले अमेरिकी राष्ट्रपतीय चुनावलाई आफ्नो देशले प्रभावित पारेको भन्ने केही मानिसहरूको सोचाइ ‘पूर्णतः हास्यास्पद’ भएको बताएका थिए।

अमेरिकाको फक्स न्यूज च्यानलसँगको एउटा अन्तर्वार्तामा पुटिनले अमेरिका-रुस सम्बन्धलाई अमेरिकाको आन्तरिक राजनीतिक संघर्षको बन्धक बनाउन नहुने टिप्पणी गरे।

हेलसिन्कीमा भएको भेटवार्तालाई ट्रम्प र पुटिन दुवैले सफल भनेका थिए।

Share Now

Leave a comment.