
काठमाडौँ, १२ चैतः जीवनमा जानी नजानी गरेका पाप नाश गर्ने विश्वासका साथ आज पापमोचनी एकादशी व्रत गरिँदैछ । प्रत्येक वर्ष चैत्रकृष्ण एकादशीका दिन मनाइने पापमोचनी एकादशी व्रत आज भगवान् विष्णुको पूजा, आराधना गरी मनाउन लागिएको हो ।
यो एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनुभएको थियो । पहिला वसन्त ऋतुका बेलामा अप्सराहरूले विहार गर्ने चैत्ररथ नाम गरेको वन थियो । त्यो वनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेका ऋषि तपस्या गरेर बस्नुभएको थियो । मञ्जुघोषा नामकी अप्सराले ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउनुभयो । ऋषिको तपस्या समाप्त पार्दै आचार–विचार, तपस्या, नियम–आचरण सबै लोप बनाउनुभयो । स्वर्ग जान मेधावी ऋषिलाई बिन्ति गर्न लाग्नुभयो र ऋषि मोहमा पर्दै ‘तिमी आजै आएकी हौँ । अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछि जाउली’ भन्न थाल्नुभयो । ती दुवैको ५५ वर्ष, नौ महिना, तीन दिनसम्म रमण गर्दै बितेछ । अप्सराले जान्छु भनेपछि ऋषिले सन्ध्या गरुञ्जेल बस भनेको कथा विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको सनातन विद्वत् परिषद् नेपालका सदस्य पण्डित बालमुकुन्द देवकोटाले राससलाई जानकारी दिनुभयो ।
ऋषिले ध्यान गरेर हेर्दा तिनीसँग ५५ वर्ष बितेको र आफ्नो जपतप, तपस्या, आचार, विचार सबै कर्म लुप्त भएको देखेर ‘स तां शशाप मेधावी त्वं पिशाची भवेति च’ अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिएको प्रसङ्ग रहेको देवकोटाले सुनाउनुभयो । “मञ्जुघोषाले हात जोड्दै बिन्ति गरेर हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ ? भनेपछि ऋषिले चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गर्नाले पाप नाश हुनेछ भन्नुभयो”, उहाँले उल्लेख गर्नुभयो ।
चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ । त्यस एकादशीको व्रत गर्दा समस्त पाप नाश हुन्छ भनेको सुनेर मेधावी ऋषिले पापमोचनी एकादशीको व्रत गर्नुभएको थियो । मञ्जुघोषा अप्सराले पनि व्रत गरेर श्रापबाट मुक्त भई स्वर्ग जानुभयो । मेधावी ऋषि पनि फेरि पुण्यवान् हुनुभएको कथा पनि वर्णन गरिएको छ ।
सम्पूर्ण मानवले जानी नजानी गरेका पाप नाश गर्न यो व्रत लिनुपर्ने विधान छ । यसबाट पाप नाश भई यो माहात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फलका साथै धेरै पुण्य प्राप्त हुने विश्वास गरिने नातन विद्वत् परिषद्का सदस्य पण्डित देवकोटाले बताउनुभयो ।
—