
ललितपुर, २ साउन । नेपाली इन्जिनियरहरुको छाता संस्थाको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएनले भोलि साउन ३ गते भव्यताका साथ ५६ औं इन्जिनियर दिवस मनाउने भएको छ ।
एशोसिएसनका अध्यक्ष ई.हरेराम श्रेष्ठले ५६ औ इन्जिनियर दिवस भव्यताका साथ सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ ।
संघको केन्द्रीय कार्यालयले प्रकाशित गरेको सूचना अनुसार भोलि बिहानदेखि नै केन्द्रमा काठमाडौंकोे राष्ट्रिय सभागृह तथा देशभित्र र विदेशमा रहेका क्षेत्रीय शाखा केन्द्र र शाखाहरुमा बिहानैदेखि विविध कार्यक्रमहरु संञ्चालन हुने भएका छन् ।
केन्द्रीय कार्य समितिको आयोजनामा सभागृहमा बिहान ८ः३० बजे रक्तदान कार्यक्रमको आयोजना गरिनेछ । इन्जिनियर दिवसको मुख्य कार्यक्रमको उद्घाटन बिहान १०ः०० बजे सोही स्थानमा हुनेछ ।
उद्घाटन समारोहको प्रमुख आतिथ्यता भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले गर्नुहुनेछ ।
मन्त्री,सांसद, विभिन्न विश्वविद्यालयका पदाधिकारी एवम् प्राध्यापकहरु र सरकारी,गैरसरकारी र निजी क्षेत्रमा कार्यरत तथा स्वव्यवसाय गरिरहेका समस्त इन्जिनियरहरुको सहभागिता रहने सो उद्घाटन कार्यक्रममा Outstanding Youth Professional Award, Distingushied Entrepreneurship Award,Sahid Engineer Nawaraj Bista Memorial Award, Outstanding Woman Engineer Award, Life Time Achievement Award र एक संस्थालार्ई Engineers’ Appreciation Award प्रदान गरिनेछ । उद्घाटन शत्रमा टेक्निकल पेपरको विमोचन गर्ने कार्यक्रम पनि रहेको छ ।
दिउसो १ बजे आरम्भ हुने कार्यक्रमको दोस्रो शत्रमा”Integrated Engineering Services for Sustainable Development” विषय राष्ट्रिय गोष्ठी आयोजना गरिनेछ । सो गोष्ठीमा विभिन्न कार्यपत्र प्रस्तुत गरि तिनमाथी विज्ञहरुबाट टिप्पणी गराएर सहभागीबीचमा छलफल गराईने कार्यक्रम रहेको छ ।
एशोसिएसनले साँझमा नृत्य र गायन सहितको विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि राखेको छ ।