
काठमाडौं, १२ चैत्र । क्षयरोग(टीबी) उपचार गरे निको हुन्छ । उपचार सर्वसुलभ पनि छ । तर बिडम्बना नेपालमा क्षयका बिरामीहरु बढ्दै गएका छन् । नवलपरासी,डडेल्धुरा र बाग्लुड.का संवाददाहरुले पठाएको रिर्पोटमा ती जिल्लाहरुमा क्षयका बिरामीहरु बढ्दै गएको पाइएको छ । बिरामीको पहिचान गरी उपचारमा सघाउने उद्देश्यले जिल्ला जिल्लामा खोज पड्ताल अभियान पनि जारी गरिएको छ । एक रिपोर्टः
नवलपरासी ४२६ जना नयाँ क्षयरोगी भेटिए
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२६ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा ११ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले नयाँ क्षयरोगीमध्य १४ जना बालबालिका रहेका जानकारी दिनुभयो । “जिल्लामा अहिले ४२६ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डिआर) भएका पाँच महिला र चार पुरुषको मध्यबिन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ८८ र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा छ जना रहेका तिवारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा देखिएकामध्ये ९० प्रतिशतको सफल उपचार भएको छ ।
“जिल्लामा गत आवमा ६०३ जनामा क्षयरोग भेटिँदा २६ जनाको मृत्यु भएको थियो, आव २०७९÷८० मा ५४६ भेटिँदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा ५२९ क्षयरोगी भेटिँदा १९ जनाका मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा ४१६ मा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेका स्थानीय स्रोत व्यक्ति तिवारीले जानकारी दिनुभयो । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा डिआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको बताउँदै उहाँले यहाँ नौ जना डिआर क्षयरोगीको आवासीय रूपमा उपचार भइरहेको जानकारी दिनुभयो ।
“चालु आवको फागुन मसान्तसम्म २७ पुरुष र ११ जना महिला डिआर क्षयरोगी भेटिएका छन् । जसमध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका हुन्”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपरासी(बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्कीमा पनि रहेका तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षयरोगको उपचारका लागि प्रदेशमा ९४५ डट्स केन्द्र छन् । जिल्लामा क्षयरोग खोजपड्ताल कार्यक्रमअन्तर्गत आठवटै पालिकामा चार हजार ४८० जनाको छातीको एक्स–रे गरिएको थियो । तीमध्ये तीन सयको खकार परीक्षण गरिएको थियो ।
क्षयरोग खोजपड्ताल शिविरबाट ८५ जना नयाँ क्षयरोगी भेटिएका प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “समयमा उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । यो माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्ने प्रमुख सिंहले बताउनुभयो । उहाँका अनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने प्रमुख सिंहले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको उहाँले बताउनुभयो ।
विश्वका आठ देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी छन् । जसमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इन्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।
सङ्घीय सरकारले क्षयरोग निवारणको लागि आव २०७७÷७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२÷८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ ।
प्रत्येक वर्ष मार्च २४ तारिकका दिन मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि सोमबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस वर्षको क्षयरोग दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ ।
डडेल्धुरामा क्षयरोगका ७१ नयाँ बिरामी
जिल्लामा यस आर्थिक वर्षको साउनदेखि माघसम्म ७१ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये ६५ वर्षमाथिका २९ र १५ देखि २४ वर्ष उमेर समूहका २९ जना र अन्य १५ वर्ष मुनिका रहेका छन् ।
जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार गत आर्थिक वर्षमा ३१५ को जाँच गर्ने लक्ष्य रहे पनि १४६ जनामात्र परीक्षण गरिएको थियो । हालसम्म जिल्लामा १२४ जना क्षयरोगका बिरामी फेला परेका छन् । तीमध्ये सबैभन्दा बढी अमरगढी नगरपालिकामा ३२ जना रहेका छन् ।
यसैबीच, ‘हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता हो’ भन्ने नाराका साथ यहाँ विश्वक्षयरोग दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले सरकारले क्षयरोग नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक पर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले सहकार्य र समन्वय सफलता प्राप्त गर्ने मुख्य आधार भएको भन्दै क्षयरोग नियन्त्रणका लागि सबै निकायले हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्वास्थ्य कार्यालयका सरुवा रोग नियन्त्रण स्थानीय स्रोत व्यक्ति हरिप्रसाद भट्टका अनुसार नेपालमा हरेक वर्ष ७० हजार नयाँ क्षयरोगी देखापर्ने बताउँदै ३० हजार बिरामीको मात्र पहिचान हुने जानकारी दिनुभयो । क्षयरोग सजिलै सर्ने भएकाले एक सङ्क्रमित व्यक्तिले १० देखि १५ जनासम्मलाई यो रोग सार्नसक्ने भएकाले सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
गत वर्ष ८८ बिरामी उपचारपछि निको भएकामा छ जनाको मृत्यु भएको थियो । यस वर्ष हालसम्म एक जनाको मृत्यु भइसकेको छ । कार्यक्रममा सहभागीहरूले क्षयरोगबारे जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
बागलुङमा भेटिए १७९ जना क्षयरोगी
यहाँ हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो ।
दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताउनुभयो । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उहाँले दिनुभयो ।
घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।
सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यस वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका १० जनाले ज्यान गुमाएका छन् । यस वर्ष सबैभन्दा बढी ढोरपाटनमा ४३ सबैभन्दा कम तमानखोलामा तीन जना सङ्क्रमित भेटिएका जनाउँदै घिमिरेले पछिल्लो समय खोजपड्ताल पनि बढाइएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “क्षयरोग समयमा पत्ता लगाएर उपचार गरे निको हुन्छ, जिल्लामा जनचेतनाको अभावले सङ्क्रमण फैलँदो छ, बागलुङमा निको हुने दर ९० दशमलव चार प्रतिशत छ । उपचारसँगै नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ”, निरीक्षक घिमिरेले भन्नुभयो, “हामीले यहाँका नागरिकलाई सचेत गराइरहेका छौँ, सम्भावित सङ्क्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकाले खोजपड्ताललाई तीव्रता दिएका छौँ । बागलुङमा देशभरको तुलनामा मृत्युदर कम छ ।”
सङ्क्रमण नियन्त्रणका लागि बढी सङ्क्रमित भएको ठाउँबाट खोजपड्ताल अभियानलाई तीव्रता दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा जिल्लाका गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।