
ललितपुर । नेपाली कांग्रेसको नीति तथा प्रशिक्षण विभागको कार्यकारी निर्देशकमा पत्रकार, साहित्यकार तथा प्राध्यापक पुरुषोत्तम दाहाल नियुक्त हुुनुभएको छ ।
मानव अधिकारकर्मी समेत रहनुभएका दाहाललाई नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले बुधबार नियुक्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेपाली कांग्रेसको विधान २०१७(संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा ओखलढुंगाका पुरुषोत्तम दाहाललाई नेपाली कांग्रेसको नियमावली २०६८ को नियम २७(३) बमोजिम उपसभापति निधिले नियुक्त गर्नु भएको जानकारी दिनुभएको छ ।
श्री दाहाल विगत चार दशकदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय हुनुहुन्छ भने विगत ३४ वर्षदेखि प्राध्यापनमा संलग्न हुनुहुन्छ । वि.सं. २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुनुहुन्छ ।
श्री दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर काम समेत गरिसक्नु भएको छ ।