Prakash Adhikari March 27, 2025

 

भैरहवा(रुपन्देही), १४ चैत्र । प्रधानमन्त्री(पीएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा नेपाल आर्मीको त्रिभुवन क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।

बिहीवारको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गर्यो । यो जितसँगै नेपाल आर्मीको टिम शीर्ष स्थानमा उक्लिएको छ । पुलिससँग समान अंक भए पनि हेड टु हेडमा आर्मी अगाडि छ ।

पुलिस अघिल्लो संस्करणमा १० खेल जितेको थियो । भने, यस संस्करणमा लगातार ८ खेलमा जित हात पारेको थियो ।

आजको खेलमा पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेक कुमार यादवले अविजित रहँदै सर्वाधिक ४१ रन जोडे । उनले ४५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे ।

कप्तान विनोद भण्डारीले ३५ बलमा अविजित १३ रन जोडे । तृतराज दास २५, भीम सार्की २३ तथा सन्तोष कार्की २२ रनमा आउट भए ।

आर्मीलाई रोक्ने क्रममा पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १ । १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले आर्मीका स्पिनरहरु चम्कदा ४१।४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक अर्धशतकीय इनिङ खेले पनि अन्य ब्याटर चल्न नसक्दा कम योगफलमा नै समेटिएको थियो । कप्तान ऐरीले ३७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५० रन जोडेका थिए ।

आरिफ शेख ५२ बलमा २२, गुल्शन झा २७ बलमा १७ तथा अर्जुन साउद ३५ बलमा १३ रन जोड्दै आउट भएका थिए । सागर ढकाल २७ बलमा १६ रनमा अविजित रहेका थिए । पुलिसको ब्याटिङ धराशाही बनाउँन आर्मीका लागि १० नै विकेट स्पिनरले लिएका थिए ।

शाहब आलमले १० ओभरमा ३१ रन खर्चिएर ४ विकेट लिएका थिए । शाहबले पिएम कपको इतिहासमा १ सय विकेट पूरा गरेका छन् । उनी अगाडि पुलिसका ललितनारायण राजवंशीले १ सय विकेट पूरा गरेका थिए । शाहबले ४७ इनिङमा १ सय विकेट पूरा गरेका हुन् ।

सन् २०१७ बाट सुरु पीएम कपमा शाहब निरन्तर त्रिभुवन आर्मी क्लबमा रहेका छन् । यस संस्करणमा पनि शाहब २८ विकेटका साथ सर्वाधिक विकेटकर्ताको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका ललितको ३६ विकेट रहेको छ ।

आजको खेलमा नरेन साउदले ३ तथा भीम सार्की र कुशल मल्लले समान १ विकेट लिएका छन् ।

शनिवार हुने पिएम कपको फाइनलमा स्थान पक्का गरिसकेका पुलिस र आर्मीको यस खेलबाट लिग चरणको शीर्ष र दोस्रो हुने टोली टुंगो लागेको हो ।

अर्को विभागीय टोली नेपाल एपीएफ क्लबले तेस्रो स्थान पक्का गरेको छ । चौथो स्थान बागमतीले पक्का गरेको छ ।

Share Now