
काठमाडौं, १८ चैत्र । इस्लाम धर्माबलम्बीहरुको मुख्य पर्वको रुपमा मनाइने इद उल फित्रका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरुले स्वदेश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्माबलम्बीहरुलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय भावना अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले कुनै पनि धर्मले सबैखाले विभेदको अन्त्य र नकारात्मक भावलाई निषेध गरेको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्दै उहाँले मानवता मानिसको मूल धर्म भएकाले यसको संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।
इस्लाम धर्मावलम्बीले यो पर्व हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्वपूर्ण अनुष्ठान हो । यी अनुष्ठानका माध्यमबाट इस्लाम धर्मावलम्बीहरुले आफ्नो ध्यान र आत्मसंयममा वृद्धि गर्ने प्रयास गर्नुले उहाँहरुको आध्यात्मिकतालाई थप बलियो बनाउन सघाउने उपराष्ट्रपतिको भनाइ छ ।
“भाइचारा, मेलमिलाप र सामूहिकतामा एकताको प्रतीकका रुपमा रहेको ‘ईद–उल–फित्र’ ले सबैलाई एकआपसमा मिलेर बस्न सन्देश दिनुको साथै असहाय, गरिब र सहयोगको आवश्यकता रहेकाहरुलाई मद्दत गर्नसमेत उत्प्रेरित गर्दछ । जीवनमा आशा र विश्वासको सन्देश दिँदै सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न पनि यो पर्वले सिकाउँदछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।
धर्मले समता, स्वतन्त्रता, बन्धुत्व, न्याय आदिको पृष्ठपोषणमा टेवा पुगेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसले मानिसमा आध्यात्मिक रुपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्नमा सघाउने स्पष्ट पार्नुभएको छ ।
‘ईद–उल–फित्र’ ले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यवद्धताको भावना सबल र सुदृद्ध गर्दै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय एकता, अखण्डता र राष्ट्रियतालाई थप बलियो एवं सुदृद्ध बनाउन यो पर्वले सबैलाई प्रेरित गर्ने विश्वास उपराष्ट्रपतिको छ ।
प्रधानमन्त्री ओलीद्वारा शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिनुुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको हो ।
“आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ”, सन्देशमा भनिएको छ, “रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।”
इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।
ईदले सदभाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरे
सभामुख देवराज घिमिरे ईद उल फित्रले सबै नेपालीबीच सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् भन्ने कामना गर्नुभएको छ ।
सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा इस्लाम धर्मावलम्बीको महान् पर्व ईद (ईद उल फित्र) को अवसरमा सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरेले यस्ता चाडपर्वले आपसी एकता, मेलमिलाप र धार्मिक सहिष्णुतालाई अझ सशक्त बनाउने विश्वास लिएको सन्देशमा उल्लेख छ । “रमजान महिनाभरको उपवास, आध्यात्मिक शुद्धता, आत्मसंयम र परोपकारको अभ्यासपछि आउने यो महान् पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्”, सन्देशमा भनिएको छ, “पारस्परिक सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्दै ईदले सबै नेपालीलाई सुदृढ राष्ट्रिय एकताको भावनामा जोड्ने विश्वास लिएको छु ।”
यो पर्व इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण चाड हो । यस पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्पराले यस चाडलाई अझ अर्थपूर्ण बनाएको छ ।
“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विविधताले भरिएको देश हो, नेपालको संविधानले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै धार्मिक स्वतन्त्रतालाई सुनिश्चित गरेको छ”, सन्देशमा भनिएको छ, “यो संवैधानिक व्यवस्थाले सबै नागरिकलाई आ–आफ्नो धार्मिक एवं सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने अधिकार प्रदान गरेको छ ।”
–––