
बैङ्ककथाइल्याण्ड), २१ चैत । थाइल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसंग म्यान्मार र भुटानका प्रधानमन्त्री तथा इस्क्यापका कार्यकारी सचिवले भेटवार्ता गर्नुभएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग म्यान्मारको स्टेट एडमिनिस्ट्रेसन काउन्सिलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री मिन आङ हलिङबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
उहाँहरुबीच दुईपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका थप बलियो बनाउने विषयमा छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओली र भूटानी प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भूटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच आज बैङ्ककमा भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोब्गेबीच ‘साइडलाइन’ भेटवार्ता भएको हो ।
उहाँहरुबीच गत सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटको स्मरणका साथै सहकार्यका विविध पक्षबारे छलफल भएको थियो । भेटमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रधानमन्त्री ओलीसहित बिम्स्टेक मुलुकका सरकार प्रमुखहरु एकै ठाउँ
प्रधानमन्त्री ओलीसहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनको सदस्य मुलुकका प्रधानमन्त्रीहरु थाइल्याण्डमा भेला हुनुभएको छ ।
आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले शीर्ष नेताहरुका लागि आज बैंकको होटेल साड्रिग्रलामा आयोजना गर्नुभएको रात्रिभोजमा उहाँहरु सहभागी हुनुभयो । सो अवसरमा उहाँहरुबीच सामूहिक भेटघाट भएको थियो ।
थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनुभएको हो ।
प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका क्षेत्रीय कार्यकारी सचिवको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले भेट गर्नुभएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहनुभएका प्रधानमन्त्री ओलीसँग कार्यकारी सचिव सलैहले आज भेट गर्नुभएको हो । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतिका सहयोगका विषयमा कुराकानी भएको थियो ।
}