Prakash Adhikari April 5, 2025

 

चेन्नाई(तामिलनाडु, भारत), २३ चैत्र (एजेन्सी) । इण्डियन प्रिमियर लिग(आर्इपीएल) मा आज भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २५ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ ।

दिल्लीले सन् २०१० पछि चेन्नईलाई पहिलो पटक उसकै घरेलु मैदानमा हराएको हो । चेन्नईको जारी सिजन घरमा यो लगातार दोस्रो हार हो ।

१ सय ८४ रनको लक्ष्य पछ्याएको चेन्नई निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५८ रनमा सीमित भयो ।

चेन्नईका विजय शंकरले ५४ बलमा ५ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६९ रनको अर्धशतकीय इनिङ खेले ।

शिभम दुवे १५ बलमा १ चौका र १ छक्काको सहयोगमा १८ रन बनाए । डेभोन कन्वे १३, रचिन रविन्द्र ३, कप्तान ऋतुराज गायकवाड ५ तथा रविन्द्र जडेजा २ रनमा आउट भए ।

छैठौं विकेटका लागि महेन्द्रसिंह धोनी र शंकरले ८४ रनको नट आउट साझेदारी गरे । धोनी २६ बलमा १ चौका र १ छक्काको सहयोगमा ३० रनमा नट आउट रहे ।

दिल्लीका लागि भिपराज निगमले २ तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदिप यादवले समान १ विकेट लिए ।

त्यसअघि चेन्नईको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो।

दिल्लीका ओपनर केएल राहुलले ५१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

दिल्लीले रनको खाता नखोल्दै पहिलो ओभरमा नै ओपनर जेक फ्रेजर मगर्कलाई गुमाएको थियो । दोस्रो विकेटका लागि राहुल र अभिषेक पोरेलले ५४ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याएका थिए ।

पोरेलले २० बलमा ४ चौका र १ छक्काको सहयोगमा ३३ रन जोडेका थिए । तेस्रो विकेटका लागि कप्तान अक्षर पटेलले राहुलसँग मिलेर ३६ रनको साझेदारी गरेका थिए ।

कप्तान पटेल १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रनमा आउट भएका थिए । चौथो विकेटका लागि समिर रिज्भीले राहुलसँग मिलेर ५६ रनको साझेदारी गरेका थिए ।

रिज्भीले १५ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडेका थिए । पाँचौ विकेटका लागि ट्रिस्टन स्टब्सले राहुलसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए । स्टब्स १२ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रनमा अविजित रहेका थिए ।

चेन्नईका खलिल अहमदले २ तथा मथिशा पथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान १ विकेट आफ्नो नाममा गरेका थिए ।

दिल्ली ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।

चौथो खेल खेलेको ५ पटकको च्याम्पियन चेन्नईको २ अंकका साथ आठौं स्थानमा छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो ।

Share Now