
काठमाडौँ, २५ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा आज सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, मुख्यसचिव एकनारायण अर्याल र सम्बन्धित मन्त्रालयका सचिवहरुसँगको छलफलमा थप गृहकार्य गरी वार्ताबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँमा जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो । बैठकमा विद्यमान आर्थिक अवस्था, विद्यालय शिक्षाको कानुन निर्माणको प्रक्रिया र सरकारले तत्काल पूरा गर्न सक्ने माग तथा गुणस्तरीय शिक्षाको सुनिश्चितता लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न जसपा अध्यक्ष यादवको सुझाव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले वार्तामार्फत आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
आज प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले सरकारले शिक्षासम्बन्धी नीति, योजना, ऐन र कार्यक्रमहरूको समीक्षा गरी व्यापक परिवर्तन गर्दै शिक्षा क्षेत्रका विकृति, विसङ्गति, अराजकता र अन्योलता अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । “मुलुकको विकास, परिवर्तन र भविष्यको मूल आधार शिक्षा नै हो, शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरी गुणस्तरीय शिक्षामा सबैको पहुँच स्थापित गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।
–––
–––