
काठमाडौं, २६ चैत्र । हङकङमा हुने चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृखलामा भाग लिन नेपाली राष्ट्रिय क्रिकेट टोली हंगकंग उडेको छ।
नेपाली टोली सोमबार राति हंगकंग प्रस्थान गरेको हो ।
टोलीलाई हिजै नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले बिदाइ गरेका थिए ।
बुधबारदेखि सुरु हुने हंगकंग श्रृखलाको लागि नेपाली राष्ट्रिय टोली पूर्वकप्तान तथा वर्तमान प्रशिक्षक ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नेपाल क्रिकेट संघले हालै नियुक्त गरेका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो सिरिजको लागि जिम्मेवारी दिइएको हो।
मल्लले क्यानले यो जिम्मेवारी दिएकोमा धन्यवाद दिए र राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गराउदा मुख्य प्रशिक्षकको जिम्मेवारी पाउनु आफ्नो लागि गर्वको विषय भएको बताए। साथै खेलाडीहरूले सहजै स्वीकारेको कारण उनीहरुलाई मार्गनिर्देशन गर्न निकै सजिलो भएको पनि मल्लले बताए।
उनले प्रधानमन्त्री कप खेले लगतै ५ दिनको छोटो तयारीका बाबजुद टोली लयमा रहेको र हंगकंगमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
लामो समयपछि टी २० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीलाई यो खेलले सेप्टेम्बरमा हुने टी २० विश्व कप छनोटको लागि मद्दत पुग्ने बताइएको छ। यस पटक टिममा बसिर अहमद, लोकेश बम र नन्दन यादवले कमब्याक गरेको विषयमा उनीहरूले एनपीएल र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कारण टोलीलाई सहयोग पुग्ने कप्तान रोहित पौडेलले बताए।
टोलीमा पूर्वकप्तान सन्दीप लामिछाने र अनिल साह जस्ता अनुभवी खेलाडी छुटेका छन् । उनीहरु स्वास्थ्यका कारण छुटेको बताइएको छ तर त्यो त्यति भरपर्दो छैन । सन्दीपमाथि जय ट्रफीमा एम्पाएरको भूमिकामा प्रश्न उठाएकोले सिजनको एक खेलमा प्रतिबन्ध लागेको थियो । प्रधानमन्त्री कपमा सहभागी नबनेपछि त्यो प्रतिबन्ध हट्नु पर्ने थियो । विगतमा राष्ट्रिय टिममा रहँदा पनि तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र त्यस अगाडि कप्तान पारस खड्कासंग चिसो सम्बन्ध र अव्यक्त ईष्याका कारण उनी टोली बाहिर परेको अनुमान गरिएको छ । अनिल साह भने चोटका कारण नपरेको जनाइएको छ । यो खेलको परिणाम र त्यसपछिका प्रतिक्रियाबाट यसको यथार्थ जानकारी बाहिर आउने बताइएको छ ।
नेपालले सिरिजमा कुवेत, कतार र आयोजक हङकङसँग खेल्नेछ। नेपालले पछिल्लो पटक गत अक्टोबरमा अमेरिकासँग खेलेको सिरिज ३(० ले जितेको थियो। यसपछि नेपालले खेल्न लागेको यो पहिलो टी २० अन्तर्राष्ट्रिय सिरिज हो।
नेपालले बुधबार पहिलो खेल हङकङसँग खेल्नेछ।
रोहित पौडेलको कप्तानी रहेको नेपाली क्रिकेट टोलीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुलशन झा समाविष्ट छन् ।