कोलकोता(पश्चिम बंगाल, भारत), २६ चैत्र (एजेन्सी) । इन्डियन प्रिमियर लिग (आर्इपीएल) अन्तरगत मंगलबार भएको पहिलो खेला लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ४ रनले पराजित गरेको छ।
लखनउले दिएको २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो।
खेलमा कोलकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे। कोलकाताले पावर प्लेमा १ विकेटको नोक्सानीमा ९० रन बनायो।
सुनिल नारायणले १३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३० रन जोडे । कप्तान अजिन्के राहानेले ३५ बल खेलेर ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको पारी खेले। उनी आउट हुँदा टोलीले १ सय ६२ रन बनाइसकेको थियो।
त्यसपछि भेनकटेश्वर अयरले ४५ रन जोडे। रिन्कु सिंहले अन्त्यमा प्रयास गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ओभरमा ६ बलबाट २४ रन चाहिएको थियो तर कोलकोताले १९ रन मात्र जोड्न सक्यो।४ रनको झिनो अन्तरमा नतिजा लखनउलाई सुम्पियो ।
कोलकोतालाई रोक्ने क्रममा लखनउका आकाश दीप र सार्दुल ठाकुरले समान २ /२ विकेट लिए।
त्यसअघि कोलकोताको इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो। लखनउका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए।
ओपनर इडन मारक्रम र मार्सलले पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे। मारक्रम ३ रनले अर्धशतक बनाउन चुके । उनले २८ बलमा ४ चौका र २ छक्काको मद्दतले ४७ रन बनाए ।
त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा ८१ रन बनाए ।
पुरनले ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे। अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे। लखनउलाई रोक्ने क्रममा कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए।
लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। उसको यो तेस्रो जित हो। कोलकोताको भने यो तेस्रो हार हो। उसले पनि ४ अंक बनाएको छ ।








