काठमाडौँ, २७ चैतः वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ४१ आरोही समूहका ३ सय ८१ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार आजसम्म सगरमाथा, आमादब्लम, अन्नपूर्ण–१, मकालुलगायत हिमाल र पिक आरोहणका लागि ८४ महिला र २ सय ९७ पुरुषसहित कूल ३ सय ८१ जनाले अनुमति पाएका हुन् ।
विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागिमात्रै ३० देशका १४ आरोही समूहका २७ महिला र १ सय ७ पुरुषसहित जम्मा १ सय ३४ जनाले अनुमति पाएका छन् । नेपालसहित ७५ देशका नागरिकले हिमाल आरोहण अनुमति लिएका छन् ।
यस्तै अन्नपूर्ण–१ मा छ आरोही समूहका ६६, आमादब्लाममा चार ४८ र मकालुमा तीन समूहका ४० जनाले विभागबाट आरोहण अनुमति लिएका छन् । हालसम्म हिमाल आरोहणबाट रु २४ करोड ५२ लाख ७७ हजार ५ सय ३७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ


















