काठमाडौं,५ साउन । चिकित्सा शिक्षा विधेयक विज्ञहरुको सुझावलाई समेटेर ल्याइएको अध्यादेश अनुरुप ल्याउनु पर्ने लगायत चिकित्सा क्षेत्रका सुधारको माग राख्ने विगत २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै शनिबार दिउसो काठमाडौंमा विशाल आयोजना प्रदर्शन गरिएको छ।
सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्सले आयोजना गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, अधिकारवादी, चिकित्सक, विद्यार्थी नागरिक अगुवा र सर्वसाधरणहरूको पनि सहभागिता रहेको छ ।
र्यालीमा नयाँ शक्ति पार्टीका संयोजक पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वप्रधानन्याधीश सुशीला कार्की, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, त्रिविका पूर्वउपकुलपति डा केदारभक्त माथेमा, मानव अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइरालालगायत छन्।
प्रदर्शनकारीहरुले शिरमा नारा सहितका कागजी टोपी पहिरेका छन् । अनशनरत डा. केसीको जीवन रक्षाको व्यानर लिइएको जुलुसका सहभागीहरुले प्लेकार्ड र फुकेका बेलुन पनि हावामा तैराएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारको अहंकारको प्रतीकको रूपमा लिइएको बेलुनलाई समापनको समयमा बेलुनमा भरिएको हावा सियोले कोपेर फुटाउने कार्यक्रम पनि रहेको छ।
प्रदर्शनमा उत्रिएका डाक्टर केसीका समर्थकहरूले ‘डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसी एक्ला छैनौं हामी तिम्रो साथ छौं, माफियाका ताँती ओली सरकारका साथी, एक दुई तीन चार हामी मान्ने छैनौं हार, यो सरकार कस्तो छ श्री ३ जस्तो छ, मेडिकल माफियाहरू होसियार’ जस्ता नाराहरू लगाएका छन्।
जुलुस बानेश्वर पुगेर टुंगिने कार्यक्रम रहेको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनशन बसेका डा. केसीलाई अस्पताल परिशरमा गोली काण्ड मच्चाएर स्वास्थ्यकर्मीहरुलाई लाठी बर्षाएर रक्तपातपूर्ण स्थिति सिर्जना गरेपछि सैनिक हेलिकोप्टरमा जबरजस्ती साउन ३ गते राजधानी ल्याइएको थियो । यसलाई डा. केसी आफैले अमानवीय,क्रुर व्यवहार गरिएको बताउनुभएको छ ।
डा. केसीलाई राजधानी ल्याएपछि उहाँको समर्थनमा नागरिक स्तरमा भएको यो पहिलो प्रदर्शन हो ।
शनिबार बिहान राष्टिय स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीर अस्पतालका रेजिडेन्ट डाक्टरहरुले डा. गोविन्द केसीका मागहरु पूरा गरि उहाँको जीवन रक्षाको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए ।




















