
चेन्नई(तामिलनाडु, भारत), ३० चैत्र । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शुक्रवार राति भएको खेलमा कोलकाता नाइड राडर्सले तेस्रो जित निकालेको छ।
चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गर्दै तेस्रो जित निकालेको हो । १ सय ४ रनको सहज लक्ष्य कोलकाताले १०.२ ओभरमा २ विकेटको नोक्सानीमा हासिल गर्यो।
कोलकोताको जितमा सुनिल नरायनले १८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन जोडे।
खेलमा क्विन्टन डि ककले २३ रन जोडे। कप्तान अजिन्के राहने अविजित २० र रिन्कु सिंहले अविजित १५ रन जोड्दै कोलकातालाई ८ विकेटको जित दिलाए ।
कोलकोतालाई रोक्ने क्रममा चेन्नईका नुर अहमद र अन्सुल कामबोजले समान १ । १ विकेट लिए।
त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर फिल्डिङ रोजेको कोलकाताका बलरले चेन्नईलाई १ सय ३ रनमा रोके ।
चेन्नईले आइपीएलमा बनाएको यो अहिलेसम्मकै तेस्रो कम योगफल हो। यसअघि मुमबईसँग ७९ र ९७ रन बनाएको थियो।
चेन्नईका डेभोन कोनवे १२ रनमा, राचिन रबिन्द्र ४ रनमा आउट भए। चेन्नईले दुई ओपनर १६ रन मात्र बनाउँदागुमाइसकेको थियो।
चेन्नईले फितलो सुरुवात गर्यो। उसले पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३१ रन मात्र बनाएको थियो । कोलकाताका बलर सामु निरिह बनेको चेन्नईका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। विजय शंकरले सबैभन्दा बढी २९ रन बनाए।
शिवम दुबे र राहुल त्रिपाठीले समान १६ रन जोडे। मात्र चार खेलाडीले दोहोरो अंकमा रन बनाए । रविचन्द्र आश्विन, कप्तान महेन्द्र सिंह धोनी र नुर अहमद १ । १ रनमा तथा रबिन्द्र जडेजा र दीपक होडा रनको खाता नखोली आउट भए।
चेन्नईलाई रोक्न कोलकोताका सुनिल नराइनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिए। हर्षित राना र र वरूण चक्रवर्तीले समान २ । २ विकेट लिए।
छैटौं खेलमा तेस्रो जित निकालेको कोलकाता ६ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईको यो लगातार पाँचौं हार हो। उसले ६ खेलबाट मात्र २ अंक जोडको छ। चेन्नई आइपीएलमा नै लगातार ५ खेलमा पराजित भएको यो पहिलो पटक हो।