Prakash Adhikari April 13, 2025

-डियरबेल जोर्डन
बीबीसी संवाददाता

लण्डन(संयुक्त राज्य अमेरिका), ३१ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका विशेषदूत स्टीभ विट्कफले शुक्रवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सेन्ट पिटर्सबर्गमा भेट्नुभएको छ। ट्रम्पले युक्रेनमा युद्धविरामबारे छिटो निर्णय लिन रुसी राष्ट्रपतिलाई आह्वान गरिरहँदा विट्कफले पुटिनलाई भेट्नुभएको हो।

क्रेम्लिनले उक्त भेट चार घण्टाभन्दा लामो भएको र युक्रेनी समाधानका पक्षहरूमा केन्द्रित रहेको जनाएको छ।

पुटिनसँग विट्कफले गरेको यो वर्षको यो तेस्रो वार्ता हो र यसलाई विशेषदूत किरिल दिमित्रीभले फलदायी भनेर व्याख्या गर्नुभएको छ।

वार्ताको अहिलेको गतिलाई लिएर ट्रम्पले पुटिनसँग निराशा व्यक्त गर्नुभएको छ।

शुक्रवार उहाँले सामाजिक सञ्जालमा लेख्नुभयो, “रुसले अगाडि बढ्नु पर्छ। एउटा भयानक र अर्थहीन युद्धमा सातामै हजारौँ मानिसहरूको ज्यान गइरहेको छ।”

युक्रेनका लागि ट्रम्पका दूत किथ केलगले देश विभाजन हुन सक्ने कुरालाई अस्वीकार गरेपछि उहाँको यो स्टेटस आएको हो।

द टाइम्स पत्रिकासँगको अन्तर्वार्ताका क्रममा केलगले ब्रिटिश र फ्रान्सेली फौज युक्रेनको पश्चिमी क्षेत्रस्थित नियन्त्रित इलाकाहरूमा रहने सक्ने प्रस्ताव गरेका गर्नुभएको थियो। उहाँले त्यस क्षेत्रमा ‘विश्वास दिलाउने शक्ति’का रूपमा त्यस्ता फौझहरू राख्न सकिने प्रस्ताव गर्नुभएको हो।

त्यो शक्तिले युक्रेनमा युद्धविराम र देशको दीर्घकालीन आत्मविश्वास बढाउन मद्दत गर्ने ठानिएको छ र त्यसबारे चर्चा भइरहेको छ।

उहाँले रुसी सेनालाई कब्जा गरिएका युक्रेनका पूर्वी भागमा रहनसक्ने प्रस्ताव पनि गर्नुभएको बताइएको छ।

“यसलाई तपाईंले दोस्रो विश्वयुद्धपछि बर्लिनमा भएको जस्तो गर्न पनि सक्नुहुन्छू”, उहाँको भनाइ उद्धृत गर्दै टाइम्स पत्रिकाले लेखेको छ।

केलगले पछि सामाजिक सञ्जालमा आफूले भनेको कुरालाई गलत रूपमा प्रस्तुत गरिएको भन्दै त्यसको खण्डन गर्नुभएको छ।

“म युक्रेनको सार्वभौमिकताको समर्थनमा युद्धविरामपछिको अवस्थाबारे कुरा गरिरहेको थिएँ”, उहाँले एक्समा लेख्नुभएको छ, “म युक्रेनको विभाजन गर्ने कुरा गरिरहेको थिइनँ।”

ती टिप्पणीहरूमा न त ह्वाइट हाउस न त किएभले तत्कालै नै प्रतिक्रिया जनायो। बीबीसीले टाइम्स पत्रिकासँग यसबारे प्रतिक्रिया मागेको छ।

यसअघि शुक्रवार युरोपेली राष्ट्रहरूले किएभलाई सैन्य सहायताका लागि २१ अर्ब यूरो दिने सहमति गरेका थिए।

कार्यक्रममा युरोपका रक्षामन्त्रीहरूले युद्ध अन्त्यको कुनै सङ्केत आफूहरूले नदेखेको बताए।

पुटिन-विट्कफ वार्ताअघि, क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले सम्बन्ध सामान्यीकरणको प्रक्रिया जारी रहेकोले ‘समाधानको अपेक्षा गर्नु आवश्यक छैन’ भन्नुभएको थियो।

पुटिन र ट्रम्पको भेटघाटको मिति तय गर्ने विषयमा छलफल हुन सक्छ कि सक्दैन भन्ने प्रश्नमा पेस्कोभले भन्नुभयो, “हेरौँ! विट्कफले के प्रस्ताव लिएर आउनुभएको छ भन्नेमा भर पर्छ।”

यसअघि, विट्कफले सेन्ट पिटर्सबर्गको ग्र्यान्ड होटल युरोपमा दिमित्रीभसँग भेटघाट गर्नुभएको थियो जहाँ स्टेनलेस स्टील र रुसी बजारबारे सम्मेलन गरिएको थियो।

रुसको सार्वभौम सम्पत्ति कोषका प्रमुख ४९ वर्षीय दिमित्रीभले गत साता वासिङ्टनको भ्रमण गर्नुभएको थियो।

सन् २०२२ मा युक्रेनमा भएको पूर्णस्तरको आक्रमणपछि अमेरिका जाने उहाँ सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुनुहुन्छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रवार आफ्नो गृहनगर क्रिभी रिमा एप्रिल ४ मा रुसले गरेको क्षेप्यास्त्र आक्रमणस्थलको भ्रमणको क्रममा क्रेम्लिनमाथि युद्ध लम्ब्याएको आरोप लगाउनुभयो। आक्रमणमा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो।

उहाँले सयौँको सङ्ख्यामा चिनियाँ नागरिकहरू रुसी सेनासँग लडिरहेको आरोप पनि लगाउनुभयो। युक्रेनले दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको बताएपछि यो कुरा बाहिरिएको हो।

“कम्तीमा सयौँ चिनियाँ नागरिकहरू रुसको तर्फबाट लडिरहेका छन् भन्ने हामीलाई जानकारी छ”,जेलेन्स्कीले भन्नुभयो,”यसको अर्थ रुसले चिनियाँहरूको जीवन प्रयोग गरेर पनि युद्धलाई लम्ब्याउन खोजिरहेको स्पष्ट छ।”

उहाँले पछि ‘जीवन र सहर बचाउन’ हवाई रक्षा प्रणालीका लागि यसअघि गरेको आह्वान दोहोर्‍याउनुभयो।

“हामीले राष्ट्रपति ट्रम्पसँग यसबारे छलफल गर्‍यौँ। युक्रेनले केवल मागिरहेको छैन र हामी यी थप प्रणालीहरू किन्न तयार छौँ “, उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ।

“रुस जस्तो छिमेकी भएपछि जीवन बचाउनका लागि शक्तिशाली हतियारहरूमा मात्रै साँच्चै भर पर्न सकिन्छ।”

ट्रम्पले पहिला नै युक्रेन-रुस द्वन्द्व २४ घण्टामा अन्त्य गर्न सक्ने दाबी गरिसक्नुभएको थियो।

शुक्रवार उहाँले सन् २०२२ मा रुसले पूर्ण-स्तरको आक्रमण सुरु गर्दा यदि आफू ह्वाइट हाउसमा भएको भए यो घटना नै नहुने घोषणा गर्नुभयो।

“यस्तो युद्ध कहिल्यै हुनै पर्दैनथ्यो र यदि म राष्ट्रपति भएको भए हुने पनि थिएन !!!”, उहाँले लेख्नुभएको छ।

उक्त आक्रमणयता रुसी र अमेरिकी अधिकारीहरूले गत फेब्रुअरीमा साउदी अरेबियामा पहिलो पटक प्रत्यक्ष वार्ता गरेका थिए। अधिकारीहरूले पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापित गर्ने बारेमा छलफल गर्न भेटघाट गर्दै आएका छन्।

अमेरिकी राष्ट्रपतिको रूपमा दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पको पनि जेलेन्स्कीसँग सम्बन्ध चिसो रहेको छ। गत फेब्रुअरीमा ओभल अफिस (अमेरिकी राष्ट्रपतिको कार्यकारी कार्यालय) मा दुई जनाबीच आक्रोशपूर्ण चर्काचर्की भएको थियो।

अमेरिकाले ब्ल्याक सीमा युक्रेन र रुसबीच सीमित युद्धविराम गराउने प्रयास गर्‍यो। तर क्रेम्लिनले आफ्नो छिमेकीमाथि पूर्ण आक्रमण सुरु गरेयता लगाइएका प्रतिबन्धहरू हटाउन आग्रह गर्दा यो युद्धविराम रोकियो।

त्यसबेला देखि नै ट्रम्पले किएभ र मस्कोबीच युद्धविराममा सहमति हुन नसकेकोमा पुटिनसँग आफू एकदमै रिसाएको र क्रोधित भएको बताउनुभएको छ।

यो साताको सुरुमा वासिङ्टन र मस्को बन्दी आदानप्रदानमा अगाडि बढेका छन्।

सन् २०२२ को फेब्रुअरीमा युद्ध सुरु हुँदा युक्रेनको परोपकारी संस्थालाई ५१ डलर दान गरेको आरोपमा रुसी(अमेरिकी नागरिक सेनिया करेलिनालाई रुसमा १२ वर्षको जेल सजाय सुनाइएको थियो।

लस एन्जलसकी बासिन्दा करेलिनालाई बिहीवार बिहान रिहा गरियो र सन् २०२३ मा साइप्रसमा पक्राउ परेका जर्मन(रुसी दोहोरो नागरिकता भएका आर्थर पेट्रोभसँग साटासाट गरियो।

उहाँमाथि सेनासँग काम गर्ने उत्पादकहरूका लागि रुसमा अवैध रूपमा माइक्रोइलेक्ट्रोनिक्स निर्यात गरेको आरोप लगाइएको थियो।

Share Now