
काठमाडौं, १ वैशाख । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नयाँ बर्ष २०८२ को अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँहरुले आफ्नो शुभकामना सन्देशमा सबै नेपालीमा सुस्वास्थ्य,दीर्घायु,सुख,शान्ति,समृद्धिको उत्तरोत्तर प्रगतिको कामना गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र यसै व्यवस्थामार्फत सुशासन कायम गर्दै विकास र समृद्धि हासिल गर्न आवश्यक ऐनहरुको निर्माणमा यो बर्ष ऐतिहासिक हुने उल्लेख गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले नयाँ वर्ष २०८२ मा रोजगारी सिर्जना गर्दै उद्यमशीलताको प्रवर्द्धन र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार हुने विश्वास गर्नुभएको छ । नयाँ वर्षमा मुलुकलाई स्थायित्व, विकास, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्न प्रेरणा प्राप्त हुने उहाँको विश्वास छ ।
नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हामीले लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, र शान्ति प्रक्रियाको संस्थागत अभ्यास सुरु गरिसकेका छौँ, यी उपलब्धिहरूको रक्षा गर्नु र थप सुदृढ गर्दै लैजानु हाम्रो ऐतिहासिक जिम्मेवारी हो, हामीले पूरा गरिसकेको राजनीतिक यात्रालाई उल्ट्याउने होइन ।” विविध संस्कृतिहरू र गौरवशाली इतिहास बोकेको नेपाल नयाँ सम्भावनाहरूतर्फ अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा विकास र समृद्धिको दिशामा अघि बढ्न भौतिक, आर्थिक, सामाजिक तथा सुशासनका आधारहरूलाई सुदृढ गर्दै पूर्वाधार विकास गर्नुपर्ने बताउनुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “नयाँ वर्षले नेपाली समाजमा आपसी मेलमिलाप, एकता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताप्रतिको विश्वासलाई थप मजबुत बनाउने अपेक्षा लिएको छु ।”
नेपालमा नयाँ वर्षको उत्सव सांस्कृतिक र सामाजिक परम्परासँग गहिरो रूपमा गाँसिएको उल्लेख गर्दै उहाँले नयाँ वर्षलाई नवीकरणको प्रतीकको रुपमा मानिने बताउनुभएको छ । जसले नयाँ लक्ष्य निर्धारण गर्न, सकारात्मक परिवर्तनलाई आत्मसात् गर्न र एकताको भावना विकसित गर्न प्रेरित गर्ने उहाँको विश्वास छ ।
नयाँ वर्षमा बाँकी सबै ऐन कानुन निर्माण हुने छन् : राष्ट्रियसभा अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रुाद दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “सङ्घीय संसदले कानून निर्माण, सरकारका काम कारबाहीमा निगरानी र खबरदारी एवं जनताका आवाजको प्रतिनिधित्व गर्ने विशिष्ट भूमिका खेल्दै आएको छ, तर, नयाँ संविधान जारी भएको १० वर्ष पुग्नै लाग्दा पनि हामीले सङ्घीयता कार्यान्वयनसम्बन्धी महत्वपूर्ण कतिपय कानुन निर्माण गर्न सकेका छैनौँ ।” कानुन निर्माण गर्न नसक्दा सेवा प्रवाहमा असहजता पैदा हुने र नागरिकमा अन्योलता बढाउने उहाँको भनाइ छ ।
त्यसैले कानुन निर्माण गर्दा राजनीतिक दलहरू दलीय स्वार्थमा नलागी देशको समृद्धि र जनचाहना सम्बोधन गर्दै समस्या समाधानतर्फ केन्द्रित हुन जरूरी रहेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
“जनताका भावना र न्यूनतम आवश्यकता परिपूर्ति गर्न राज्यले प्रत्याभूति दिलाउन नसक्दा जनतामा फैलिएको निराशालाई प्रतिगामीहरूले हाम्रा उपलब्धिमाथि नै प्रश्न उठाउन खोज्नु ०८१ सालको दुखद पक्ष हो, त्यसतर्फ सचेत हुँदै गणतन्त्र विरोधी हर्कतलाई बेलैमा निस्तेज पारी गणतन्त्रको विकल्प अझ उन्नत गणतन्त्र मात्रै हुन सक्दछ भन्ने विषय आम नागरिकलाई बुझाउनु हामी सबैको दायित्व हो”, सन्देशमा भनिएको छ ।
—