Prakash Adhikari April 14, 2025

दमौली (तनहुँ), १ वैशाखः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जित्नुभएको छ ।

शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जित्नुभएको हो ।

प्रतियोगितामा खोटाङका गजेन्द्र राई द्वितीय, रोल्पाका मनकुमार रोका मगर तृतीय, धनकुटाका उमेश थापा चौथो र भक्तपुरका विकास राई पाँचौँ हुनुभएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ३३ हजार ३३३, दोस्रो हुनेलाई रु २२ हजार २२२, तृतीय हुनेलाई रु ११ हजार १११, चौथो हुनेलाई रु पाँच हजार ५५५ र पाँचौँ हुनेलाई रु तीन हजार ३३३ नगद पुरस्कार प्रदान गरिएको प्रतियोगिताका प्रवक्ता तीर्थराज खनालले जानकारी दिनुभयो ।

त्यस्तै महिलातर्फ लमजुङका विपना लामा प्रथम, लमजुङकै करुणा गुरुङ दोस्रो र तनहुँका सरस्वती डुम्राकोटी तृतीय हुनुभएको छ । उहाँहरुलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा १६६ धावकको सहभागिता रहेको थियो । कोत्रेबाट सुरु भएको दौड एक्लेखेत, तार्कुडाँडा, मनवानपुर, भुजिकोट, स्थानथोक हुँदै भूमेभैरव कोट पुगेर सकिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित दौड प्रतियोगिता आयोजना गरिएको हो । उक्त ठाउँमा यसअघि विसं २०७५ मा पहिलोपटक दौड आयोजना गरिएको हो । दौडले यस ठाउँका पर्यटकीयस्थलको प्रचारप्रसारमा सहयोग पुगेको क्लबका अध्यक्ष अनिल खनालले बताउनुभयो ।

Share Now