Prakash Adhikari April 20, 2025

अहमदावाद(गुजरात, भारत), ६ वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत शनिवार भएको खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ।

अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको खेलमा गुजरातले‌ पाएको २ सय ४ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेटको क्षतिमा हासिल गर्यो।

खेलमा जोश बटलरले तेस्रो विकेटका लागि सेर्फाने रुथरफोर्डसँग १ सय १९ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।

बटलरले ५४ बलमा ११ चौका र ४ चेकमा नटआउट ९७ रन बनाए । ३४ बल खेलका रुथरफोर्डले ३ छक्का र १ चौकामा ४३ रन बनाए ।

राउल टिवाटिया ३ बलमा समान १ छक्का र चौकाका साथ नटआउट ११ रन जोडे। बटलरले ओपनर साइ‌ सुदर्शनसँग दोस्रो विकेटका लागि ६० रनको साझेदारी गरे ‌।

सुदर्शनले २१ बलमा ५ चौका र १ छक्काको साथमा ३७ रन बनाए। अर्का ओपनर तथा कप्तान शुभमन गिल ७ रनमा‌ आउट भए।

गुजरातलाई रोक्ने क्रममा दिल्लीका मुकेश कुमार र कुलदीप यादवले समान १ । १ विकेट लिए।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोज्यो। दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३ रन बनायो।

ओपनर अभिषेक पोरेल १८ रन बनाएर आउट भए। २८ रनमा केएल राहुल प्रसिद्ध कृष्णाको बलमा एलबिडब्लु धरापमा परे‌। यसपछि करूण नेर ३१ रनमा पबिलियन फर्किए।

दिल्लीले ३ विकेटको नोक्सानीमा ९३ रन बनाएको थियो। यसपछि कप्तान अक्षर पटेल र ट्रिस्टान स्टब्सले ५३ रनको साझेदारी गरे।

खेलमा ट्रिस्टान ३१ रनमा र अक्षर पटेल ३९ रनमा आउट भए। छैटौं क्रमका आशुतोष शर्मा १९ बलमा २ चौका र ३ छक्का सहित ३७ रन जोडे।

दिल्लीलाई रोक्ने क्रममा गुजरातका प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै ४१ रन दिएर ४ विकेट लिए। मोहम्मद सिराज, अर्सद खान, साई किशोर र इशान्त शर्माले समाब १ विकेट झारे।

सातौं खेलमा पाँचौं जितपछि १० अंकसहित गुजरातले शीर्ष स्थानमा पुनरागमन गरेको छ । समान खेलमा दोस्रो स्थानको दिल्ली र तेस्रो स्थानको पन्जाब किङ्सको पनि समान १० अंक छ।

Share Now