Prakash Adhikari May 5, 2025

कोलकोता(पश्चिम बंगाल, भारत), २२ वैशाख (एजेन्सी)। इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार कोलकोताको इडेन गार्डेनमा भएको ५३ औं खेलमा कोलकाता नाइट राइडर्सले नाटकीय नतिजा निकाल्दै राजस्थान रोयल्सलाई १ रनको झिनो अन्तरले पराजित गरेको छ।

जितको लागि २ दय ७ रनको चुनौती पछाएको राजस्थान २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रनमा रोकियो। कोलकोताले १ रनले बाजी मार्यो।

राजस्थानको टप अर्डरको प्रदर्शन फितलो रहयो। ८ रन जोड्दा २ विकेट गुमाइसकेको थियो। चौथो क्रमका कप्तान रियान पराग बाहेक अन्य खेलाडी क्रिजमा टिक्न सकेनन्।

रियान शतकबाट ५ रनले चुके। बिष्फोटक ब्याटिङ गरेको उनले ४५ बलमा ६ चौका र ८ छक्का सहित ९५ रनको पारी खेले। तर यो उनको प्रदर्शन जितको लागि प्रयाप्त भएन्।

यशस्वी जैसवलले ३४ रनमा र सिम्रन हेटमेयरले २९ रनमा आउट भए। शुभम दुबे र जोफ्रा आर्चर क्रिजमा थिए। अन्तिम ओभरमा जितको लागि २२ रन जोड्नु पर्ने थियो।

यो ओभर निकै रोमाञ्चक बन्यो। दुबेले २ छक्का र एक चौका प्रहार गरे। १९ रन जोडिसकेको थियो। अन्तिम बलमा जितको लागि ३ र बराबरीको लागि २ रन जरुरी थियो। जहाँ १ रन जोडेर दुबे रन आउट हुँदा राजस्थान १ रनको पिडादायी हार बेहोर्न बाध्य भयो।

बलिङमा कोलकोताका मोइन अलि, हर्षित राना र वरूण चक्रवर्तीले समान २ । २ विकेट लिए।

त्यसअघि इडेन गार्डेनमा टस जितेर कोलकाताले पहिलो ब्याटिङ गर्ने निर्णय गर्यो। कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६ रन बनायो।

ओपनर सुनिल नराइन ११ रनमा र अर्का ओपनर रहमानुल्लाह गुर्बाज ३५ रनमा आउट भए। ६९ रन जोड्दा कोलकाताले २ विकेट गुमायो।

यसपछि कप्तान अजिन्के राहने र अंगकृश रघुवंशीले तेस्रो विजेटको लागि ४२ रनको साझेदारी गरे। राहने ३० रनमा आउट भए। अंगकृश र आन्द्रे रसलले चौथो विकेटको लागि ६१ रनको साझेदारी गरे। अंगकृश ३१ बलमा ४४ रन जोडेर आउट भए।

रसेलले उत्कृष्ट ब्याटिङ गरे। २५ बलमा ४ चौका र ६ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण योगदान दिए।

राजस्थानको बलिङमा जोफ्रा आर्चर, युद्धवीर सिंह, महिश थिक्साना र रियान परागले १ ।१ विकेट लिए।

यो जितसहित कोलकाता ११ अंक सहित छैटौं स्थानमा उक्लिएको छ। राजस्थान ६ अंकसहित आठौं स्थानमा रहेको छ।

Share Now