इटानगर(अरुणाचल), ३१ वैशाख । साफ यु १९ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४-० गोल अन्तरले पराजित भएको छ।
भारतको अरुणान्चलस्थित गोल्डेन जुबिली रंगशालामा भएको खेलमा भारत समूह विजेता बन्दै सेमिफाइनल पुगेको छ भने नेपाल उप विजेता बन्दै सेमिफाइनल पुगेको छ।
खेलमा २८ औं मिनेटमा भारतका रोहेन सिंहले गोल गरे। यो गोल भएको एक मिनेट बित्न नपाउँदै ओमाङ्ग डोडुमले गोल गर्दा भारतले २-० को अग्रता बनायो।
पहिलो हाफमा २-० ले पछि परेको नेपाल दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । भारतले एकपक्षीय दबाब बनायो। ७६ औं मिनेटमा रोहेनले व्यक्तिगत दोस्रो गोल गरे।
भारत यतिमा मात्र रोकिएन । ८४ औं मिनेटमा ड्यानी मिटेले अर्को एक गोल थपे। यो सँगै नेपालले भारतसँग ४ गोलको फराकिलो अन्तरको हार बेहोरेको छ।
भारतले यसअघि श्रीलंकालाई ८-० ले हराएको थियो। आयोजक भारत ६ अंक सहित समूह विजेता बन्न सफल रहयो। नेपालले यसअघि श्रीलंकालाई ५-० ले हराएको थियो। ३ अंक सहित नेपाल समूहको दोस्रो भयो ।
अब सेमिफाइनलमा शुक्रवार भारतले समुह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यु १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।


















