लण्डन(संयुक्त अधिराज्य), ३१ वैशाख (बीबीसी)। सोभियतकालीन एउटा अन्तरिक्षयान केही दिनभित्र अन्तरिक्षबाट पृथ्वीमा खस्ने वैज्ञानिकहरूले बताएका छन्।
उक्त यान ‘कोस्मोस ४८२’ को ‘ल्यान्डिङ मोड्यूल’ हो र त्यसको तौल झन्डै ५०० किलोग्राम छ।
तत्कालनी सोभियत सङ्घले सन् १९७२ मा उक्त अन्तरिक्षयान शुक्रग्रहतिर प्रक्षेपण गरेको थियो। तर प्राविधिक समस्या उत्पन्न भएपछि उक्त यान पृथ्वीको कक्षमै अलपत्र परेको थियो।
वैज्ञानिकहरूले उक्त यान पृथ्वीको सतहमा खस्ने मिति गणना गर्न सकेका छैनन्। तर मे महिनाको पूर्वार्धमै खस्न सक्ने उनीहरूको अनुमान छ।
बीबीसी न्यूज रसियनसँग कुरा गर्दै एक विज्ञले उक्त वस्तु आवासीय क्षेत्रमा खस्न सक्ने जोखिम भएको बताएका छन्। उक्त यान मध्यपूर्व, मध्यएशिया वा दक्षिणपूर्वी युरोपमा जहाँ पनि खस्न सक्ने सम्भावना छ।
प्रक्षेपण
१५ डिसेम्बर २०१५ मा काजकस्तानस्थित बाइकनूर कोस्मोड्रोमबाट सोयूज टीएमए-१९एम प्रक्षेपण गरिँदैतस्बिर स्रोत,Getty Images / Nasa
तस्बिरको क्याप्शन,काजकस्तानस्थित बाइकनूर कोस्मोड्रोमबाट सन् १९७२ मा ‘कोस्मोस ४८२’ प्रक्षेपण गरिएको थियो
शुक्रग्रहमा अवतरण गराउने लक्ष्यसहित उक्त अन्तरिक्षयान ३१ मार्च १९७२ मा काजकस्तानस्थित बाइकनूर कस्मोड्रोमबाट प्रक्षेपण गरिएको थियो।
सोभियत सङ्घले ‘भेनेरा ८’ नामक परियोजनाअन्तर्गत एउटा ‘अन्तरिक्ष स्टेशन’ निर्माण गरेको थियो। यो अन्तरिक्षयान त्यसैको जगेडा थियो। दुवै यानमा उस्तै उपकरणहरू थिए र दुवै समान खालका थिए।
सोभियत सङ्घले ‘अन्तरग्रहीय अन्वेषण’मा सफलता हात पार्ने सम्भावना बढाउन ती जुम्ल्याहा यान प्रक्षेपण गरेको थियो।
तिनमा मोल्निया-एम रकेटहरू प्रयोग भएका थिए। सोभियत सङ्घले अन्तरिक्षयानसहितको सोयूज मिशनमा पनि सो वर्गका रकेट प्रयोग गरेको थियो।
पृथ्वीमाथि उपल्लो कक्षसम्म गह्रुँगा वस्तु प्रक्षेपण गर्नका लागि ‘कोस्मोस ४८२’ का रकेटहरूमा एउटा अतिरिक्त खण्ड थियो।
दुर्घटना
त्योभन्दा चार दिनअघि प्रक्षेपण गरिएको ‘भेनेरा ८’ गन्तव्यमा पुग्यो। तर रकेटमा समस्या उत्पन्न भएपछि जुम्ल्याहा ‘कोस्मोस ४८२’ पृथ्वीको कक्षभन्दा माथि जान सकेन।
उक्त अन्तरिक्षयान प्रक्षेपण गर्दा प्रथम तीन चरण योजनानुरूप सम्पन्न भए। उक्त यानको शीर्ष भाग ‘निअर-अर्थ अर्बिट’ भनिने पृथ्वीको कक्षको तल्लो भागमा पुग्यो। त्यसपछि ‘अन्तरग्रहीय अन्तरिक्ष स्टेशन’ त्यहाँबाट आफ्नो अन्तरिक्ष जानुपर्थ्यो।
तर त्यसलाई दिशानिर्दिष्ट गर्ने ‘बूस्टर ब्लक’ले काम नगरेकाले त्यो ‘अन्तरिक्ष स्टेशन’ पृथ्वीमाथि उचित स्थानमा पुग्न सकेन।
सेप्टेम्बर २०२४ मा बाइकनूर कस्मोड्रोमस्थित प्रक्षेपणस्थलमा लैजान रेलमा राखिएको एउटा सोयूज रकेटतस्बिर स्रोत,Getty Images / Nasa
तस्बिरको क्याप्शन,सेप्टेम्बर २०२४ मा बाइकनूर कस्मोड्रोमस्थित एउटा प्रक्षेपणस्थलमा लैजान रेलमा राखिएको सोयूज रकेटको फाइल तस्बिर
उक्त अन्तरिक्ष स्टेशनले त्यसपछि बल्ल ‘कोस्मोस ४८२’ को सङ्ज्ञा पाएको हो।
सन् १९७० को दशकमा सोभियत सरकारले आफ्ना विफल प्रक्षेपणहरूलाई अङ्क भएको ‘कोस्मोस’ उपनाम दिएर आफ्नो विफलता लुकाउने गर्थ्यो।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार उक्त यान चार टुक्रा भएको थियो।
त्यसमध्ये दुइटा भाग पृथ्वी नजिकै रहेको कक्षमा रहे र ४८ घण्टाभित्र जले। तर अरू दुई भाग — सम्भवतः अवतरण गर्न बनाइएको मोड्यूल र मुख्य इन्जिन भएको भाग — माथिल्लो अण्डाकार कक्षमा पुगे।
“[उक्त यानका भागहरू पुगेको] सर्वोच्च बिन्दु पृथ्वीबाट झन्डै ९,००० किलोमिटर माथि थियो भने निम्नतम बिन्दु २१० किलोमिटर माथि थियो।”
नासाका अनुसार अवतरणका लागि बनाइएको भागको तौल ४९५ केजी छ।
अन्तरिक्षयानहरू पृथ्वीको वायुमण्डलमा खण्डित भई जल्दा वा ती कहाँ, कहिले र कसरी खस्छन् भन्ने कुरामा प्राविधिकहरूको नियन्त्रण हुँदा खासै ठूलो समस्या हुँदैन।
उदाहरणका लागि, पृथ्वीको कक्षमा भएको ‘मिर’ नामक ठूलो अन्तरिक्ष स्टेशनलाई त्यसका अवशेषहरू प्रशान्त महासागरमा खस्ने गरी त्यहाँबाट हटाइएको थियो।
तर ‘कोस्मोस ४८२’ पृथ्वीमा खस्दा वैज्ञानिकहरूले कुनै प्रकारको नियन्त्रण कायम गर्न सक्दैनन्। अर्को डरलाग्दो कुरा के हो भने खस्ने क्रममा यो पूर्णतः खण्डित नहुन र वायुमण्डलमा नजल्न सक्छ।
किनभने अन्तरिक्षयानको उक्त भाग (ल्यान्डिङ मोड्यूल) शुक्रग्रहमा अवतरण गराउने उद्देश्यसहित निकै बलियो गरी निर्माण गरिएको थियो। शुक्रग्रहको वायुमण्डल निकै सघन र तापक्रम निकै उच्च हुने हुँदा उक्त भागलाई त्यहाँको चरम अवस्था खप्न सक्ने गरी बनाइएको थियो।
“उक्त मोड्यूलको ‘हीट शील्ड’ (उच्च तापबाट सुरक्षा प्रदान गर्ने कवच) र सिलबन्द खण्ड शुक्रग्रहको वायुमण्डलमा जोगिन सक्ने सम्भावना हुन्थ्यो,” ट्रिश्किन भन्छन्।
“तर उक्त यान सग्लो नै रहने सम्भावना चाहिँ छैन। त्यसको प्यारशूट निकै पहिला नै खुलिसकेको परोक्ष सङ्केत पाइएको छ। अर्थात् उक्त यानमा क्षति पुगिसकेको छ र अब के हुन्छ भन्ने कुरा चाहिँ त्यो कसरी वायुमण्डलमा प्रवेश गर्छ भन्नेमा भर पर्छ।”
पृथ्वीको कक्षमा उक्त यानको अवस्थिति र मार्गका आधारमा गरिएको गणनाअनुसार त्यसका अवशेषहरू समुद्रममा नभई जमिनमा खस्ने सम्भावना बढी देखिएको ट्रिश्किन बताउँछन्।
उनका अनुसार उक्त यानको मार्ग इजिप्ट, सिरिया, टर्की र अजर्बैजानमाथि भएकाले अवशेषहरू ती देशमा मानिसहरू बस्ने भूभागमा खस्न सक्ने जोखिम छ।
“यदि उक्त यान सग्लै रह्यो र पृथ्वीमा ठोकिँदा त्यसको गति २४२ किलोमिटर प्रतिघण्टा हुन्छ भन्ने मान्ने हो भने पृथ्वीमा बज्रिँदा १.१ देखि १.२ एमजे ऊर्जा निस्किन्छ। त्यो भनेको २०० ग्राम टीएनटी (डाइनमाइट) विस्फोट गर्दा जतिको हो।”


















