Prakash Adhikari May 15, 2025

-जेक होर्टन, टम इड्गिङ्टन र जोशुआ चीटम
बीबीसी भेरिफाइ

लण्डन(संयुक्त अधिराज्य), १ जेठ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कतारले उपहार दिन लागेको अनुमानित ४० करोड अमेरिकी डलर (झन्डै ५४.६ अर्ब नेपाली रुपैयाँ) मूल्य पर्ने विमान आफ्नो प्रशासनले स्वीकार गर्न चाहेको बताउनुभएको छ। उहाँका अनुसार उक्त उपहार अस्वीकार गर्नु मूर्खता हुन्छ।

अमेरिकाको डेमोक्र्याटिक पार्टीका केही नेताहरूले त्यस्तो उपहार स्वीकार गर्नु निकै अवैध हुने तर्क गरेका छन्। ह्वाइट हाउस भने त्यसको खण्डन गर्छ। ट्रम्पका केही समर्थकहरूले पनि त्यस्तो उपहारग्रहणको आलोचना गरेका छन्।

कतारले यसअघि विमानबारे प्रकाशित विवरणहरू गलत भएका भन्दै वार्ता चलिरहेको बताएको थियो।

ट्रम्प कतारसहित मध्यपूर्वका विभिन्न राष्ट्रको भ्रमणमा भएका बेला विमान उपहारबारे समाचार आएको हो।

बीबीसी भेरिफाइले अमेरिकी राष्ट्रपतिहरूले उपहार स्वीकार गर्नुसँग सम्बन्धित कानुनी पाटोबारे खोतलेको छ।

विमानबारे हामीलाई के थाहा छ

कतारको राजपरिवारले दिन लागेको एउटा बोइङ जम्बो जेट ट्रम्प प्रशासनले स्वीकार गर्न लागेको विवरण आइतवार अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएको थियो। विवरणहरूका अनुसार उक्त विमान रिफिट गरेर तत्कालका लागि ‘एअर फोर्स वन’का रूपमा प्रयोग गरिने योजना छ। पदासीन राष्ट्रपतिले प्रयोग गर्ने विमानलाई ‘एअर फोर्स वन’ भनिन्छ।

ट्रम्पले पछि सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेख्नुभयो : “४० वर्ष पुरानो एअर फोर्स वनलाई अस्थायी रूपमा प्रतिस्थापन गर्न रक्षा मन्त्रालयले सार्वजनिक र पारदर्शी लेनदेनबाट एउटा उपहार पाउँदै छ, निःशुल्क।”

“यो कतारको ठूलो उदारता हो। म त्यसको निकै प्रशंसा गर्छु। म यस्तो प्रस्ताव अस्वीकार गर्ने व्यक्ति कदापि बन्दिनँ”, सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो।

फेब्रुअरीमा ट्रम्पले बोइङ कम्पनीबाट सोझै प्राप्त गर्नुपर्ने दुइटा एअर फोर्स वन जेटहरू उपलब्ध गराउन ढिलो गरेको भन्दै आफू उक्त कम्पनीसँग सन्तुष्ट नभएको टिप्पणी गर्नुभएको थियो । उहाँले ह्वाइट हाउसले ‘एउटा विमान किन्ने वा प्राप्त गर्ने वा त्यस्तै केही गर्ने’ बताउनुभएको थियो।

ट्रम्पले गत फेब्रुअरीमा उक्त कतारी विमानको पाम बीचमा निरीक्षण गर्नुभएको थियो।

उक्त विमानमा अहिले तीनवटा शयनकक्ष, एउटा लाउन्ज (विश्रामकक्ष) र एउटा कार्यालयकक्ष समेत भएको सन् २०१५ मा उक्त विमानबारे जानकारी दिने सङ्क्षिप्त दस्ताबेजमा उल्लिखित छ।

एक कतारी अधिकारीले सीएनएनलाई उक्त विमान कतारको रक्षा मन्त्रालयले पेन्टागनलाई दिन लागेको र एअर फोर्स वनका सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न त्यसमा परिवर्तन गरिने बताएका छन्।

विज्ञहरूका अनुसार त्यो काम सम्पन्न गर्न वर्षौँ लाग्न सक्छ अर्थात् ट्रम्पको कार्यकाल सकिने बेलासम्म उक्त विमान प्रयोगका लागि उपलब्ध नहुन सक्छ।

ट्रम्पले आफ्नो कार्यकाल सकिएपछि उक्त विमान प्रयोग नगर्ने बरु त्यो सोझै आफ्नो राष्ट्रपतीय सङ्ग्रहालयमा जाने बताउनुभएको छ।

यद्यपि विमान उपहारमा लिने कुराको डेमोक्र्याट नेता र ट्रम्पका केही पुराना समर्थकहरूले आलोचना गरेका छन्। “सत्य हो भने यो कुराले सरकारमाथि ठूलो दाग लाग्ने छ”, लाउरा लूमरले भन्नुभयो।

के यो उपहार कानुनसम्मत हो ?

केही वरिष्ठ डेमोक्र्याट नेताहरूले यो उपहार स्वीकार गर्नु अवैधानिक हुने बताएका छन्।

डेमोक्र्याटिक सिनेटर एडम शिफले अमेरिकाको संविधानमा भएको एउटा प्रावधान उद्धृत गर्दै कङ्ग्रेसको अनुमतिबिना कुनै पनि निर्वाचित अधिकारीले बाह्य देशका नेताबाट “कुनै उपहार….वा त्यस प्रकारको जेसुकै” लिन नहुने तर्क गर्नुभएको छ।

यूनिभर्सिटी अफ एडिन्बरामा अमेरिकाको इतिहासका प्राध्यापन गर्ने फ्र्याङ्क कोग्लिआनोका अनुसार ‘सरकारलाई प्रभाव पार्ने उद्देश्यले दिइने घुस रोक्न’ उक्त प्रावधान राखिएको हो।

“यो पक्कै पनि संविधानको दायराभन्दा माथि गएको छ। हामीले यत्रो परिमाणको वा यस्तो प्रकृतिको उपहार देखेका थिएनौँ “, लन्डन मेट्रोपोलिटन यूनिभर्सिटीसँग आबद्ध संवैधानिक कानुनका ज्ञाता प्राध्यापक एन्ड्रू मोरनले भन्नुभयो।

कङ्ग्रेसले विदेशबाट प्राप्त हुने उपहारका विषयमा केही कानुनहरू बनाएको छ। तीमध्ये ‘फरिन गिफ्ट्स एन्ड डेकोरेशन्स एक्ट १९६६’ पनि एउटा हो। विद्यमान कानुनहरूका अनुसार निश्चित मूल्यभन्दा माथिका उपहारहरू स्वीकार गर्न कङ्ग्रेससँग अनुमति लिनुपर्छ।

अहिले अमेरिकी अधिकारीहरूले ४८० डलरभन्दा कम मूल्यका उपहार लिन पाउँछन्।

ट्रम्पले उक्त विमान अन्ततः सङ्ग्रहालयमा जाने बताए पनि विज्ञहरूका अनुसार उनले आफ्नो सङ्ग्रहालय फाउन्डेशनमा जाने भन्नुभएको हो।

पूर्वराष्ट्रपतिहरूका दस्ताबेजको सङ्ग्रह राखिने छुट्टै पुस्तकालय र विभिन्न सामग्री राखिने ( प्रायः निजी दानदातव्यबाट सञ्चालन हुने ) छुट्टै सङ्ग्रहालय हुन्छन्। ती स्थानहरू सर्वसाधारणका लागि खुल्ला हुन्छन्।

बीबीसी भेरिफाइले कुरा गरेका विज्ञहरूका अनुसार उक्त विमान सोझै राष्ट्रपतिलाई नभई अमेरिका सरकारलाई दिइने भएकाले र त्यो पनि सङ्ग्रहालयमा जाने भएकाले उपहार लिँदा संविधान उल्लङ्घन भएको नमानिन सक्छ।

सिटिजन्स फर रिस्पोन्सिबिलटी एन्ड एथिक्स नामक संस्थाका जोर्डन लिबविच ट्रम्पले पदबाट बाहिरिए पनि पनि उक्त विमान प्रयोग गरे भने चाहिँ त्यो अस्वीकार्य हुन्छ। “रेगनको एअर फोर्स वन उनको राष्ट्रपतीय सङ्ग्रहालयमा पुग्यो, तर त्यो कुरा भिन्न हो। उक्त विमानलाई सेवाबाट हटाइयो, रेगनले पछि त्यो कहिल्यै प्रयोग गर्नुभएन अनि त्यो सङ्ग्रहालयमा राखिएको वस्तुका रूपमा छ।”

कतारबाट विमान उपहार लिनु उचित भएको तर्क गर्दै अमेरिकाको न्याय मन्त्रालयले एउटा टिप्पणी उठाएको विवरण आएको छ। तर त्यो अहिलेसम्म सार्वजनिक भएको छैन।

विमान उपहारमा लिने सन्दर्भमा सोधिएको प्रश्नको उत्तर दिँदै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले ूत्यसको कानुनी पक्षबारे अझै काम भइरहेकोू जानकारी दिँदै यो सरकारले प्राप्त गर्ने उपहार वा दान कानुनसम्मत भएको दाबी गर्नुभयो।

Share Now