ललितपुर, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिंजो १० श्रावणमा नेपाल सरकार र चिकित्सा शिक्षा विधेयक विज्ञहरुका राय अनुरुप हुनुपर्दछ भनेर २७ दिनसम्म अनशन बस्नुभएका डा. गोविन्द केसीका बिच भएको सहमतिको स्वागत गरेको छ ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यालय वी.पी. स्मृति नगर सानेपा ललितपुरमा एक पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसले सो सहमतिको स्वागत गरेको हो ।
सम्मेलनमा लिखित मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको इमान्दार कार्यान्वयनले नेपालको चिकित्सा शिक्षामा सुधार र अग्रगतिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको बताउनुभयो ।
नेपाली कांग्रेसले चिकित्सा शिक्षामा सुधारका लागि सत्याग्रहका माध्यमबाट निरन्तर दबाब दिंदै आउनु भएका डा. गोविन्द केसी प्रति उच्च सम्मान व्यक्त गरेको छ । नेपाली कांग्रेसले हिजो भएको सहमतिमा विश्वास गर्दै संसदमा सरकारले दर्ता गरेको विधेयकप्रतिको विरोधको सूचना फिर्ता लिएको जनाएको छ ।
नेपाली कांग्रेसले पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले डा. केसीको माग सम्वोधन गर्दै डा. केदारभक्त माथेमाको नेतृत्वमा उच्च स्तरीय कार्यदल गठन गरेको थियो भने वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले डा। केसीको माग पुरा गर्दै ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ०७४’ जारी गरेको बताएको छ ।
कांग्रेसले वर्तमान सरकारले माथेमा कार्यदलको निष्कर्ष र अध्यादेशको मूल मर्म विपरित वर्तमान सरकारले संसदमा विधेयक ल्याएका कारण नै वितेको एक महिनाभरी मुलुकमा द्वन्द्व चर्किएको तथ्य जगजाहेर भएको जनाएको छ ।
कांग्रेसले डा. केसीको लामो अनशन, संसदमा नेपाली कांग्रेसको शसक्त प्रस्तुति, सडकमा हज्जारौंको प्रदर्शन पश्चात अन्ततः जनभावनाको कदर गर्न सरकार वाध्य भएको जनाएको छ ।
कांग्रेसले वहुमत र विवेकको द्वन्द्वमा विवेकले जित्छ र जित्नु पर्छ भन्ने ऐतिहासिक पाठ सरकारले सिकेको विश्वास लिएको छ ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारले जारी गरेको अध्यादेश नै विद्यमान समस्याको हल हो भन्ने धारणा सहि प्रमाणित भएको पनि जनाएको छ ।
सहमतिमा राखिएका१० वर्षसम्म काठमाण्डौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाईने,एउटा विश्वविद्यालयले पाँच भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने, स्नातक तहमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने र सो सुविधा क्रमश बढाउदै लानु पर्ने लगायतका प्रावधान अध्यादेशमा रहेको उल्लेख गरेको छ ।
नेपाली कांग्रेसले संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयन, निषेधाज्ञा, चर्को मुल्य बृद्धि, उपकुलपति प्रति अपमान जनक व्यवहार लगायतको अन्य मुद्दा केन्द्रीत साउन १५ को ७७ जिल्ला सदरमुकाममा हुने एक दिने विरोध प्रदर्शनको कार्यक्रम प्रभावकारी बनाउन स्थानिय पार्टी पंक्ति यति बेला सकृयतापूर्वक लागेको जनाएको छ ।