Prakash Adhikari June 2, 2025

अहमदाबाद(गुजरात), १९ जेठ(एजेन्सी) । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतवार राति सुरु भएर सोमबार सम्पन्न दोस्रो क्वालिफायर खेलमा पन्जाब किंग्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

गुजरातको राजधानी अहमदाबादमा भएको खेलमा मुम्बईलाई पराजित गर्दै पञ्जाबले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । खेलमा मुम्बईले प्रस्तुत गरेको २ सय ४ रनको लक्ष्य पञ्जाबले १ ओभर बाँकी रहँदै ५ विकेटको क्षतिमा पूरा गर्यो । पञ्जाबले अब उपाधिका लागि मंगलबार रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।

पञ्जाबका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ५ चौका र ८ छक्कासहित नटआउट ८७ रनको योगदान दिए । नेहाल वाधेराले २९ बलमा ४८ रनको योअग्दन दिए । नेहाल र श्रेयसले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै टोलीलाई जिततर्फ अघि बढाएका थिए ।

ओपनर प्रियांश आर्याले २० रन जोडेका थिए । जोश इंग्लिसले ३८ रनको योगदान दिँदा प्राभ्सिम्रन सिंहले ६ रन बनाए । मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १(१ विकेट हात पारे ।

त्यसअघि मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो । कप्तान रोहित शर्मालाई तेस्रो ओभरमै ८ रनमा गुमाएपछि जोनी बेयरस्टो र तिलक वर्माले ५१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाए । बेयरस्टोले २४ बलमा ३ चौका र २ छक्कासहित ३८ रन जोडे ।

तिलक र सूर्यकुमार यादवले तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे । सूर्यले २६ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन जोडे । तिलक पनि १५ औं ओभरमा आउट हुनुअघि २९ बलमा २ चौका र २ छक्कासहित समान ४४ रन बनाउँदै आउट भए ।

नमन धिरले १८ बलमा ७ चौकासहित ३७ रन जोडेसँगै मुम्बईले २ सय रनको आँकडा छुन सफल भएको थियो । कप्तान हार्दिक पान्ड्याले १३ बलमा १५ तथा राज बवाले ४ बलमा ८ रन जोडे ।

पञ्जाबका लागि अजमतुल्लाह ओमारजाइले २ तथा काइल जेमीसन, मार्कस स्टोइनस, विजयकुमार वाइसक र युजभेन्द्र चहलले १ ।१ विकेट लिए ।

पहिलो क्वालीफायरमा पञ्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलोरले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Share Now