काठमाडौँ, २४ जेठ : बकर ईदको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अज्हा (बकर इद)ले आपसी विविधताबीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मुस्लिम समुदायको महान् पर्व इद दल अज्हा (बकर इद) को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।
मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने र खुलास्थान, इदगाह वा मस्जिदहरूमा गई इद उल अज्हाको नमाज पढ्नुका साथै अङ्गालोमा बाँधिएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ ।
उहाँले भन्नुभएको छ, “विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ–आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु ।”
उहाँले इद उल अज्हा (बकर इद) को माध्यमबाट सबै नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश ː उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विकसित, सुखद् र सम्पन्न व्यवस्था प्रणाली एवं सभ्यताको निर्माणको निम्ति उन्नत दृष्टिकोण तथा देशभक्तिको भाव हुनुपर्ने आवश्यकता उल्लेख गर्नुभएको छ ।
बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “मानवता मानिसको मूल धर्म हो, यसको संरक्षण आवश्यक छ, धर्मको यो मूल मर्मको उपासना, आत्मसात र अंगिकार सबै मानव जातिले गर्न सक्नुपर्दछ ।”
उपराष्ट्रपति यादवले धर्मले समता, स्वतन्त्रता, बन्धुत्व र न्यायको पृष्ठपोषणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यसले मानिसमा आध्यात्मिक रूपान्तरण गर्दै एउटा सभ्य र सुसंस्कृत मानव बन्न सघाउ पुग्ने बताउनुभयो । इस्लाम धर्ममा यो पर्व अत्यन्तै धूमधाम, प्रेम र भाइचाराका साथ मनाउने परम्परा रही आएको छ । बकरीदको नामले समेत मनाइने यो पर्वमा मुसलमानले पैगम्बर हजरत इब्राहिमको स्मरण गर्छन् । हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ । त्याग शब्दलाई इस्लामिक मान्यतामा कुर्बानी भनिन्छ । यस पर्वको मुख्य आधार र मान्यतामध्ये कुर्बानी पनि हो । यसको नैतिक अर्थ–मानिसले आफूभित्रका खराब आचरणलाई कुर्बानी दिनु (त्याग गर्नु) पनि हो । घमण्ड, रिस, राग, लोभ, बेईमानी र कट्टरता त्याग्ने सन्देश पनि यो पर्वले दिन्छ ।
पछिल्लो समय अन्य धर्ममा जस्तै इस्लाममा पनि केही कुरीति, कुसंस्कार, विकृति र विसंगति प्रवेश गरेकाले त्यसलाई परित्याग गर्न जरुरी छ । यसका लागि इस्लाम धर्मभित्र रहेका सकारात्मक दार्शनिक एवं आध्यात्मिक विचारलाई प्रचार–प्रसार गर्न सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उहाँले धार्मिक बुद्धिजीवि तथा समाजका अगुवाले यसका लागि अग्रसरता लिँदै यस धर्मको मूल उद्देश्य– प्रेम, शान्ति, सद्भाव, भाइचारा, सहिष्णुता र त्यागको पवित्र सन्देश फैलाउनुपर्ने आवश्यक पनि औँल्याउनुभएको छ । उहाँले नेपालको विविध संस्कृति बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा विविधतायुक्त विशेषतालाई दशकौँयता आत्मसात् गरेको एक सुन्दर समन्वय र सम्मिश्रण रहेको बताउनुभएको छ ।
कुनैपनि धर्मले सबैखाले विभेद्को अन्त्य र नकारात्मक भावलाई निषेध गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले धर्मको उद्देश्य त्याग, मन, वचन र कर्मको पवित्रता, अहिंसा, लोकहित, बुद्धि र विवेकबाट निर्धारित कर्ममार्गको महत्वलाई स्थापित गर्नु भएको बताउनुभएको छ ।


















