Prakash Adhikari June 12, 2025

पल एडम्स
कूटनीतिक संवाददाता, बीबीसी न्यूज, किएभबाट

युक्रेन, २९ जेठ । युक्रेनका सहरहरूमा व्यापक स्तरका रुसी ड्रोन आक्रमणको सङ्ख्या निरन्तर बढिरहेको छ।

यसै साता सोमवार राति भएको भीषण ड्रोन हमला त्यसैको एक उदाहरण हो।

मध्यरातपश्चात् कैयन् घण्टासम्म किएभको आकाशमाथि निरन्तर ड्रोन उडिरहे।

ती ड्रोन चारै दिशाबाट आएजस्तो देखिए। सर्चलाइट अनि हवाई प्रतिरक्षा युनिटबाट आएका सुन्तला रङ्गका ट्रेसर फायरका प्रकाशले आकाशै उजेलियो।

ड्रोन हमलाका भयानक दृश्य

हाम्रो होटेलबाट हेर्दा टाढा आगोका लप्का माथि उठेका देखिन्थ्यो। लाग्थ्यो आकाशमा ती प्रकाशसँग प्रतिस्पर्धा गर्न नचाहेर झन्डै पूर्णिमाको जस्तो चन्द्रमा समेत बिस्तारै अलप हुँदै छ।

ठूल्ठूला विस्फोटका आवाजले ड्रोनलाई सफलतापूर्वक रोकिएको वा ड्रोनले सफलतापूर्वक निसानामा प्रहार गरेको जनाउँथ्यो।

यी सबै घटनाक्रमका माझ के भइरहेको छ भनेर ठम्याउन पनि मुस्किल हुन्छ।

आधिकारिक विज्ञप्तिहरूमा बारम्बार ‘भीषण’ जस्ता शब्द प्रयोग भइरहन्छन्।

तर अलि गहिरिएर आँकडाहरू केलाउने हो भने एउटा विषय प्रस्ट हुन्छ: युद्धका अग्र मोर्चाहरूभन्दा निकै टाढा युक्रेनका सहरहरूमा रुसी अतिक्रमणका सुरुवाती दिनहरूयताकै सबभन्दा भीषण बमबारी भइरहेको छ, ड्रोनको प्रयोग ह्वात्तै बढेको छ।

गत वर्षको अगस्टभन्दा तीन महिनापूर्व रुसले कुल ११,०० ड्रोन हमला गरेको युक्रेनको जनरल स्टाफको प्रतिवेदनमा उल्लेख छ।

त्यसपछि त्यो सङ्ख्या ह्वात्तै बढ्यो। अगस्टमा मात्र ८१८, सेप्टेम्बरमा १,४१० अनि अक्टोबरमा २,००० ड्रोन हमला भए।

ड्रोन आक्रमणको सङ्ख्या निरन्तर बढिरहेको छ।

यो वर्षको मे महिनामा त्यो पहिलोपटक ४,००० नाघ्यो। जुनमा त्यो कीर्तिमान पनि भङ्ग हुने देखिन्छ।

जुन सुरु भएयता औसतमा हरेक २४ घण्टामा २५६ प्रहार भइरहेको युक्रेनी हवाई सेनाले जनाएको छ।

कस्ता कस्ता ड्रोन?

त्यस्तो प्रहारको अत्यधिक हिस्सा ड्रोनमार्फत् भएका छन्। जसमा शाहेद जस्तै मोडलहरू अनि युक्रेनी हवाई प्रतिरक्षा प्रणालीलाई छक्क्याउने किसिमका विभिन्न ड्रोन छन्।

सन् २०२२ को अन्त्यताका रुसले सुरुमा इरानले आपूर्ति गरेको शाहेद नामका ड्रोनहरू प्रयोग गरेको थियो।

त्यसको केही महिनामा टाटार्स्तान रसियन रिपब्लिकस्थित येलाबुगामा रहेको विशेष आर्थिक क्षेत्रमा रुसले जेरान नामक आफ्नै ड्रोन उत्पादन थाल्यो।

युक्रेनी सुरक्षा सर्भिस एसबीयूका प्रवक्ता आर्टेम देतियारेन्कोका अनुसार उक्त क्षेत्रमा २५ हजार ड्रोनको उत्पादन गरिएको छ भने थप २० हजार ड्रोन यसअघि इरानले आपूर्ति गरेका सामग्रीहरूबाट बनाइएका छन्।

सोमवार रातिको बमबारीमा पहिचान गरिएका ३१५ मध्ये २५० वास्तविक स्ट्राइक ड्रोन रहेको युक्रेनी हवाई सेनाका प्रवक्ता युरी इहनातले भने।

“अधिकांशको निसाना किएभ नै थियो,” उहाँले युक्रेनी समाचार एजेन्सी आरबीसीलाई  बताउनुभयो   ।

सातवटा बलिस्टिक तथा क्रुज क्षेप्यास्त्र पनि किएभ लक्षित गरी प्रहार गरिएको उहाँले बताउनुभयो।

किएभको पीडा

किएभका लामो समयदेखि प्रताडित मानिसहरूका निम्ति त्यो अर्को निद्राविहीन रात रह्यो।

“झन् झन् गाह्रो हुन थालेको छ,” किएभका एक निवासी काट्याले भन्नुभयो, “पहिले त भावनात्मक रूपमा झेल्न अलि सहज थियो। तर अहिले कठिन हुन थालेको छ।”

प्रहारको सघनता मात्र पनि होइन। यस्ता सयौँ रातहरू बेहोरेका किएभका निवासीहरूले, रुसले उसको क्षमता अभिवृद्धि गर्दै जाँदा, अचेल प्रविधिमा भइरहेका नजानिँदा परिवर्तनको अनुभूति गर्न थालेका छन्।

“अचेल अलि भिन्न आवाजका ड्रोन छन्,” काट्याले भन्नुभयो।

रुसले उसको प्रविधिमा निरन्तर फेरबदल गरिरहने एसबीयूका प्रवक्ता देतियारेन्कोले बताउनुभयो।

“रुसी इन्जिनियरहरूलाई ड्रोनको मारक क्षमता बढाउन आदेश दिइएको छ ताकि तिनले गर्ने विध्वंस अनि नागरिक हताहती धेरै होस्,” उहाँले भन्नुभयो,”अनि ती जेरान ड्रोनलाई युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले पत्तो नपाओस् भन्नाका लागि पनि प्रयासहरू भइरहेका छन्।”

सोमवार ड्रोन आक्रमणमा अपार्टमेन्ट ब्लक तथा कार्यालय भवनहरू लक्षित थिए। कुनै सैन्य निसाना हुन सक्ने स्थलमा भएका क्षतिबारे किएभले टिप्पणी गर्ने गरेको छैन।

तर युक्रेनको संस्कृति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा किएभको सेन्ट सोफिया कथिड्रलमा असर परेको उल्लेख छ।

उक्त कथिड्रल युनेस्को विश्व सम्पदा सूचीमा पर्छ। युक्रेनको सबभन्दा महत्त्वपूर्ण सांस्कृतिक एवं धार्मिक स्मारकमा पर्ने उक्त कथिड्रलमा ११औँ शताब्दीका मोजेक तथा फ्रेस्को छन्।

उक्त भवनको बाहिरी पूर्वी भागको प्लास्टर्ड कर्निशमा क्षति पुगेको बताइएको छ तर भित्री भागमा असर नपरेको बताइएको छ।

Share Now