
सुरेन्द्र फुयाल/ बीबीसी न्यूज, नेपाली
नेपाल-भारत सीमा क्षेत्रमा डुबानको जोखिममा रहेका केही स्थानमा हालै दुई देशका अधिकारीले संयुक्त निरीक्षण गरे पनि पूर्वदेखि पश्चिमसम्म कम्तीमा सात स्थानमा डुबानको खतरा टड्कारो रहेको नेपाली अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
उनीहरूका अनुसार भारतले आफ्ना गाउँबस्ती बचाउन भन्दै “एकपक्षीय रूपमा” विभिन्न संरचनाहरू बनाएकाले ती नजिकै बसोबास गर्ने मानिसहरू आफ्ना घर खेत डुबानको त्रासमा बाँच्नुपर्ने अवस्था सिर्जना भएको हो।
१.खाँडो नदी, सप्तरी
सप्तरी जिल्लाको खाँडो नदी छेउछाउ बस्ने मानिसहरूका लागि यो बर्खामा पनि बाढी र डुबानको त्रास कायमै रहेको अधिकारीहरू बताउँछन्।
उदयपुरको चुरे क्षेत्रमा उद्गमस्थल भएको त्रियुगासहित अन्य नदीनाला खाँडोमा आएर मिसिन्छन्।
तर सप्तरीमा खाँडो कोसीतिर बग्दै गर्दा पानी चारैतिर फैलिने हुँदा बर्खा याममा भारतको कुनौली र नेपालको तिलाठीसहितका बस्तीमा बाढी र डुबानको खतरा बढ्छ।
समथर क्षेत्रमा खाँडो नदीले वरपरका खेतहरूमा बालुवा थुपारेकोले बर्खाको भेल गाउँबस्तीमा पुग्ने गरेको छ।
हालै दुई देशका जल उत्पन्न प्रकोप व्यवस्थापनको जिम्मेवारी लिएका प्राविधिकहरूको टोलीले खाँडो लगायतका डुबान जोखिम उच्च रहेका स्थानहरूको भ्रमण गरेको थियो।
तर जलस्रोत तथा सिँचाइ विभागका अधिकारीहरूका अनुसार खाँडो नदी नियन्त्रणका लागि नेपालपट्टी आवश्यक संरचना बनाउने काम शुरू भएको छ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित भन्छन्, खाँडो नदी क्षेत्रमा थप संरचना बनाउन “भारतीय पक्ष पनि सक्रिय हुन आवश्यक छ।”
रातु नदी, महोत्तरी
सिराहाको सीमावर्ती भागमा मैनाबत्ती र गगन नदीमा जारी डुबानको समस्या हल हुने क्रममा रहेको अधिकारीहरू बताउँछन्।
तर महोत्तरी जिल्लाबाट भारततर्फ बग्ने रातु नदी किनारका क्षेत्रमा पनि यो बर्खामा डुबानको खतरा कायमै रहेको अधिकारीहरू बताउँछन्।
बर्खाको बेला रातु नदीको भेलले नेपालको जलेश्वर बजार र सीमा पारि भारतको भिठ्ठामोर बजारका बासिन्दालाई सताउने गरेको छ।
रातु नदीको एकापट्टी मात्रै तटबन्ध निर्माणको काम पूरा भएको छ भने अर्कोतिरको काम अपूरै छ।
अधिकारीहरूका अनुसार रातुको दुवैतर्फ तटबन्ध निर्माणको काम नसकिएसम्म डुबानको समस्या हल हुँदैन।
लालबकैया, रौतहट
महोत्तरीदेखि पश्चिमतिर रौतहट जिल्लाको सिमावर्ती क्षेत्रमा लालबकैया नदी तटमा भारतले निर्माण गरेको संरचनाका कारण नेपाली भूभाग डुबानमा पर्ने गरेको छ।
लालबकैया नदीमा पानीको सतह बढेमा नेपालको बन्जाराह गाउँ र भारतको गुहाबारी क्षेत्रका गाउँबस्ती यसपाली पनि डुबानको जोखिममा पर्नसक्ने चिन्ता हटिसकेको छैन।
भारतले आफ्नो भूभागको गुहाबारी बस्ती जोगाउन रिङ्ग बन्ड (पानी छेक्ने ढिस्को जस्तो ठूलो संरचना) निर्माण गरेकोले नेपालपट्टी डुबानको समस्या बल्झिएको हो।
भारततर्फ लालबकैयाको भेलको निकास खोल्ने व्यवस्था नगरेसम्म डुबानको समस्या बल्झिरहने प्राविधिकहरू बताउँछन्।
वाग्मती, सर्लाही-रौतहट
राजधानी काठमाण्डूको उत्तरतिर उद्गम स्थल रहेको वाग्मती नदी बग्दै गएर तराईको समथर भूभाग झर्दछ।
समथर भूभागमा वाग्मती ठूलो बन्ने र फराकिलो हुने क्रम सुरु भएपछि खासगरी रौतहट र भारतीय सीमावर्ती भूभागमा डुबानको समस्या दोहोरिने गरेको छ।
भारतले आफ्नो भूभागका बस्ती जोगाउन “एकपक्षीय रूपमा” बैरगानिया रिङ्ग बन्ड निर्माण गरिदिएकोले नेपालको भवानीपुर गाउँ र अन्य बस्तीले बर्सेनि डुबान समस्या भोग्दै आएका छन्।
त्यो समस्या हल गर्न नेपालतर्फ बनाइएको तटबन्धलाई सीमापारी भारतीय भूभागसम्मै विस्तार गर्नु पर्नेमा दुवै देशका प्राविधिकहरू सहमत भए पनि त्यस दिशामा कहिले काम शुरू हुने हो प्रष्ट भइसकेको छैन।
जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ता भन्छन्, “द्विपक्षीय बैठकहरूमा सहमति जनाएको कुरा भारतीय पक्षले कार्यान्वयन गर्न मान्दैन। त्यसैले डुबान समस्या हल हुँदैन। उसले नमानेपछि हामीले के गर्ने? लडाइँ गर्न भएन।”
महली सागर, कपिलवस्तु
पश्चिममा कपिलवस्तुको सीमा पारीको भारतीय भूभागमा बनाइएको महलीसागर बाँधका कारण यसपाली पनि त्यहाँको यशोधरा गाउँपालिकाका भवानीपुर, रङगपुरका बस्ती तथा खेतहरूमा डुबान शुरू भइसकेका विवरण प्राप्त भएका छन्।
नेपालमा जम्ने गरेको पानीको निकास खोल्नका लागि भारतीय पक्षलाई बारम्बार अनुरोध गरिएपति त्यसअनुसार काम हुन नसकेको अधिकारीहरू बताउँछन्।
यसपालीको डुबान समस्या हल गर्न प्रावधिकहरूको टोली महली सागर क्षेत्रमा सक्रिय भइसकेको विभागको भनाइ छ।
लक्ष्मणपुर, बाँके
कपिलवस्तुदेखि पश्चिमतिर पर्ने बाँके जिल्लाको सीमावर्ती होलिया गाउँ क्षेत्रमा पनि भारतपट्टी बनाइएको लक्ष्मणपुर बराजका सहायका संरचनाका कारण डुबानको त्रास हट्न सकेको छैन।
नेपाल-भारत सीमा नजिकै भारतले “एकपक्षीय रूपमा” रिङ्ग बन्ड निर्माण गरिदिएकोले बाँकेको होलिया गाउँबाट राप्ती नदीतर्फ बग्ने साना खोलाहरू थुनिएका छन्।
त्यसैकारण यो बर्खामा पनि त्यो क्षेत्र कुनै पनि बेला डुबान हुनसक्ने त्रास कायमैँ छ।
अधिकारीहरूका अनुसार सीमा नजिकै निर्माण गरिएका संरचना भत्काउनुपर्ने नेपाली पक्षको मागको भारतले सुनुवाइ नगर्दा समस्या ज्यूँ का त्यूँ रहेको हो।
त्यो संरचनामाथिबाट अहिले सडक बनिसकेको बताइन्छ।
शारदा पूर्वी तटबन्ध, कञ्चनपुर
नेपालको पश्चिमी सिमानाको रूपमा रहेको महाकाली नदीमा बनाइएको शारदा बराज आसपासका नेपाली बस्तीहरू पनि डुबानको समस्याबाट मुक्त छैनन्।
शारदा बराजको पूर्वी तटबन्ध निर्माणको कामले पूर्णता नपाउँदा त्यहाँको खासगरी भुजेला गाउँ क्षेत्रमा यो बर्खामा पनि डुबान हुनसक्ने चिन्ता कायमै छ।
अधिकारीहरू भन्छन्, त्यहाँ डुबान हुन नदिन केही काम भए पनि ती पूरा भइसकेका छैनन्।
त्यहाँ नेपाली र भारतीय पक्षले आपसमा समन्वय गरेर थप काम गर्न आवश्यक रहेको जानकारहरू बताउँछन्।
उनीहरूका अनुसार दुई देशका जलस्रोत अधिकारीहरूबीच निरन्तर संवाद र समन्वयको अभावले गर्दा डुबान समस्या हरेक बर्खामा बल्झिने क्रम नटुटेको हो।
समाधान के?
सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ता चाहिँ विभागको पुनर्संरचनापछि अन्यौल उत्पन्न भएकोले अब कामहरू कसरी अघि बढ्ने हुन् त्यसबारे आफू “रनभुल्ल” भएको बताउँछन्।
जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग हालै जलस्रोत तथा सिँचाइ विभागमा गाभिएको हो।
नेपाल र भारतका प्राविधिकहरूको टोलीले पहिलो चरणको डुबान क्षेत्र निरीक्षण गत महिना वाग्मती किनारबाटै टुङ्ग्याएको
छ।

अब त्यहाँदेखि पश्चिमका डुबान जोखिम क्षेत्रमा द्विपक्षीय टोली कहिले पुग्ने हो त्यो प्रष्ट भइसकेको छैन।
जलस्रोत तथा सिँचाइ विभागमा महानिर्देशक सरोज पण्डितको भनाइमा नेपाल र भारतका प्राविधिकहरूको दोस्रो चरणको संयुक्त निरीक्षण निकट भविष्यमै गर्ने प्रयास भइरहेको छ।
तर अहिले साउने झरी दर्किने क्रमसँगै बाढी र डुबानको डर नेपालभर व्याप्त छ।
त्यो डर बर्खासँगै सकिने र अर्को मनसुनसँगै फर्किने क्रम जारी देखिन्छ।