लण्डन( संयुक्त अधिराज्य), ९ असार(बीबीसी) । “हामीले इरानको सशस्त्रीकरण कार्यक्रमको केन्द्रमै प्रहार गर्छौँ”, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमाथि आक्रमण सुरु गरेपछि भन्नुभएको थियो ।
इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएको जिकिर गर्दै आइरहेको छ। तर गुप्त रूपमा उसले अस्त्र निर्माणको प्रयास गरिरहेको आरोप इजरायलले लगाउँदै आएको छ।
अर्कोतर्फ इजरायल आफूसँग परमाणु अस्त्र भएको स्वीकार पनि गर्दैन नकार्दैन पनि। तर बाँकी विश्वले उक्त देशसँग परमाणु अस्त्र भएको ठानेको छ।
यसको श्रेय एक जना व्यक्तिलाई जाने गर्छ। उहाँकै खुलासाले परमाणु शक्ति बन्ने इजरेलको काम बाहिरी जानकारीमा ल्याइदियो। यसबापत उहाँले भने दुई दशकसम्म आफ्नो स्वतन्त्रता गुमाउनु पर्यो।
यसरी गरियो खुलासा
सन् १९८६को अक्टोबरमा द सन्डे टाइम्समा एउटा लेख छापियो। जसलाई अहिलेसम्म पनि ब्रिटिश पत्रकारिताको सबैभन्दा ठूलो खुलासा मानिन्छ। समाचारको शीर्षक थियो -‘खुलासाः इजरेलको परमाणु अस्त्रको रहस्य।’
समाचारका स्रोत हुनुहुन्थ्यो इजरायली आणविक प्राविधिक मोर्डखाइ भनूनू। उहाँको खुलासाले उहाँको देशको परमाणु क्षमताबारे आशङ्काहरू पुष्टि गर्यो। त्यसअघि सोचिएको भन्दा ठूला र अत्याधुनिक अस्त्र इजरायलसँग भएको सङ्केत पनि त्यसले गर्यो।
उहाँले नेगेभ मरुभूमिमा अति गोप्य डिमोना परमाणु अनुसन्धान केन्द्रमा काम गर्नुभएको थियो। त्यो ठाउँ जेरुसलेमबाट सडक मार्ग हुँदै जाँदा १ सय ५० किलोमिटर दक्षिणमा पर्छ।
उक्त अखबारले इजरायलसँग २०० भन्दा धेरै आणविक अस्त्र रहेको र इजरायल विश्वको छैटौँ परमाणु शक्ति भएको निष्कर्ष निकाल्यो।
“हामी तनावमा थियौँ, हामी थकित पनि थियौँ। त्यहाँ रहेका अधिकांश मानिसहरूले यति ठूलो समाचार लेखेका थिएनन्”, उक्त अखबारका खोज पत्रकार पिटर होनमले बीबीसीसँग भन्नुभयो।
तर सन्डे टाइम्सले जुन दिन उक्त समाचार खुलासा गर्यो त्यही दिन अर्थात् ५ अक्टोबरका दिन समाचारका प्रमुख स्रोतहरू एकाएक गायब भए।
देशद्रोही कि ह्विसलब्लोअरः
होनमले सबैभन्दा पहिला भनूनूलाई अस्ट्रेलियाको सिड्नीमा अगस्टमा भेटेका थिए। ती ह्विसलब्लोअरुको उपस्थिति र हाउभाउ देखेर पत्रकार आश्चर्यमा परेका थिए।
“त्यहाँ उभिइरहेका भनूनू झट्ट हेर्दा सानो जीउडाल भएका, अलिकति तालु खुइलिएका, आत्मविश्वास पनि त्यति धेरै नभएका र औपचारिक पोसाक पनि नलगाई आउनुभएको थियो। उहाँ खासमा परमाणु वैज्ञानिक जस्तै देखिनुहुन्थेन”, होनम पहिलो भेटबारे सुनाउनुहुन्छ।
“तर उहाँले डिमोनामा आफूले देखेको कुरा विश्वलाई सुनाउने अठोट र निर्णय चाहिँ बलियो गरी लिनुभएको थियो”, होनमले थप्नुभयो।
सन् १९८५को अन्त्यतिर भनूनूले आफ्नो जागिर छोड्ने निर्णय लिनुभयो। त्यसको कारण इजरायलले प्यालेस्टाइनमाथि गरिरहेको व्यवहार र परमाणु अस्त्रको विकासबारे उहाँको चित्त दुखाइ थियो। त्यसपछि उहाँ झोला बोकेर एशियाली देशहरू घुम्न निस्किनुभयो।
जागिर छोड्नुअघि उहाँले परमाणु केन्द्रको दृश्य खिच्नुभएको थियो। उहाँले हतियार उत्पादनका लागि प्रयोग हुने रेडियोधर्मी पदार्थ उत्खनन गर्ने उपकरणहरू थर्मोन्यूक्लियर उपकरणहरूको प्रयोगशालाका नमुनाहरू भिडिओमा कैद गर्नुभएको थियो।
उक्त निर्णयले उहाँलाई सबैभन्दा पहिले लन्डन र सन्डे टाइम्ससम्म पुर्यायो। अनि उहाँ रोम पुग्नुभयो र इजरेली गुप्तचर निकाय मोसादको अपहरणमा पर्नुभयो। मोसादले इजरायलमै फर्काएर उहाँलाई लामो जेल सजाय भोग्न बाध्य बनायो।
“उहाँले यो काम गर्ने योजना नै बनाउनुभएको थियो। त्यसका लागि सबैभन्दा पहिले उक्त परमाणु केन्द्रभित्र लुकाएर क्यामरा पुर्याउनुभयो। त्यसपछि त्यसभित्र प्रयोग हुने फिल्म पनि त्यसै गरी मोजाभित्र लुकाएर पुर्याउनुभयो। उनले राती र बिहान सबेरै गोप्य रूपमा तस्बिरहरू लिन सुरु गर्नुभयो “, होनम सुनाउनुहुन्छ।
मोसादको हनी ट्र्यापमा
सन्डे टाइम्सका सम्पादकहरूले भनूनूका कुरा थप जाँच गर्न उहाँलाई लन्डन लिएर आउन होनमलाई आग्रह गरे। उहाँलाई त्रास बाँकी नै भए पनि यूके उड्न सहमत हुनुभयो। सन्डे टाइम्सले उहाँलाई लन्डन सहर बाहिरको एउटा जो कोहीले थाहा नपाउने होटेलमा राख्यो।
तर उहाँ बेचैन भएर त्यहाँबाट लन्डनकै होटेलमा सर्नुभयो। जहाँ घटनाक्रमले अनपेक्षित मोड लियो।
त्यो सप्ताहान्तमा उहाँ सडकमा हिँड्दै गर्दा एक जना महिलासँग भेट भएको रहेछ। उनीसँग एकदुई पटक भेट भएपछि सँगै चलचित्र हेर्न जान सहमत हुनुभएछ। मैले उहाँलाई भनेको थिएँ, “ती महिला ठिकै मान्छे हुन भन्नेमा तपाइँ ढुक्क हुनुहुन्छ?”,होनम सम्झनुहुन्छ ।
लन्डन बसाइका क्रममा भनूनूको सुरक्षाको विषयमा होनमको चिन्ता बढ्दो क्रममा थियो। उहाँले नियमित जस्तो भनूनूलाई फोन सम्पर्क गरिरहनुहुन्थ्यो। उहाँहरूबीचको अन्तिम कुराकानी उहाँलाई अझै याद छ।
“उहाँले ‘म केही दिन उत्तरी इङ्ग्ल्यान्डतिर जाँदै छु। मलाइ केही हुँदैन’ भन्नुभयो। मैले उहाँलाई, “हेर्नुहोला तपाइँले जे गरे पनि दिनमा दुई पटक मलाई फोन गर्नुहोला, मलाई थाहा होस् कि तपाइँ सुरक्षित हुनुहुन्छ भन्ने।”
त्यसको एक महिनापछि इजरायली सरकारले भनूनू पक्राउ परेको सार्वजनिक गर्यो। उहाँ इजरायली हनी ट्र्यापमा पर्नुभएको थियो र बेहोस बनाएरै डुङ्गामार्फत् इजरायल पुर्याइएका थिए, उहाँलाई ।
इजरायलको जेलमा लैजाने क्रममा भनूनूले हत्केलामा आफ्नो अपहरणबारे केही विवरण लेख्नुभएको थियो।
उहाँले हात भ्यानको झ्यालबाट बाहिर हल्लाउने क्रममा पत्रकारले त्यो लेखिएको कुरा थाहा पाउन् भनेर त्यसो गर्नुभएको थियो।
उहाँका अनुसार लन्डनमा उनीसँग एक जना अमेरिकामा जन्मिएकी पर्यटक साथी बन्न आइन्। उनी मोसाद एजेन्ट भएको उहाँलाई त्यस बेला थाहा भएन।
ती महिलाले भनूनूलाई बिदा मनाउन रोम जाने प्रस्ताव गरिन्। जब भनूनू त्यहाँ पुग्नुभयो उहाँ अपहरणमा पर्नुभयो र उहाँलाई बेहोस बनाइयो।
जेलमुक्त भएपछिको जीवन
भनूनूलाई सन् १९८७ मार्चमा देशद्रोह र जासुसीको आरोपमा मुद्दा चलाइयो र १८ वर्षको जेल सजाय सुनाइयो। त्यसमध्ये आधाभन्दा बढी समय उहाँले एकान्त कारावासमा बिताउनुभयो।
“मैले विश्वलाई के भइरहेको छ भनेर सुनाउन चाहेको थिएँ…. त्यो देशद्रोह थिएन। इजरायलको नीति विपरीत विश्वलाई सूचित गर्ने काम मात्रै थियो”, भनूनूले जेलभित्रबाट रिकर्ड गरेर पठाएको अन्तर्वार्तामा भन्नुभएको छ।
उहाँ सन् २००४मा जेलमुक्त हुनुभयो। त्यसपछि उहाँलाई इजरायल छोड्न रोक लगाइएको छ।
त्यसपछि पनि उहाँ जेलमुक्त हुँदा तोकिएका सर्त पालना नगरेको आरोपमा कैयौँ पटक कारागार फर्किनुभएको छ।
सन् २००९ मा जेलतर्फ लैजाने क्रममा उहाँले इजरायललाई ूधिक्कारू भन्नुभएको थियो।
फ्रान्ससँगको गोप्य सम्झौता
भनूनूको खुलासा अघिसम्म इजरायलका निकट सहयोगीहरूलाई पनि उसको परमाणु क्षमताबारे थाहा थिएन।
इजरायलले सन् १९४८ मा देश स्थापना भए लगत्तै परमाणु कार्यक्रम सुरु गरेको ठानिएको छ। इजरायलका प्रथम प्रधानमन्त्री डेभिड बेन-गूरिअनले परमाणु अस्त्रको महत्त्वबारे बुझ्नुभएको थियो। तर उक्त अस्थिर क्षेत्रमा त्यस्तो अस्त्र रहेको हल्ला गरेर आफ्ना मित्रहरूलाई निराश पार्न चाहनुभएन ।
त्यसकारण इजरायलले फ्रान्ससँग गोप्य सम्झौता गरेर डिमोना केन्द्र बनायो। त्यही परमाणु केन्द्रबाट सन् १९६०को दशमा इजरायलले परमाणु अस्त्रका लागि आवश्यक तत्त्वहरू उत्पादन गरेको विश्वास गरिएको छ। वर्षौँसम्म इजरायलले त्यसलाई कपडाको कारखाना भनेर विश्वास दिलाएको थियो।
सन् १९६० को दशकमा अमेरिकीहरूले कैयौँ पटक उक्त स्थानको भ्रमण गरेका थिए तर उनीहरू जाँदा बन्द गर्ने गरिएका भूमिगत सतहको बारेमा अमेरिकीहरूले भेउ नै पाएनन्।
हतियार नियन्त्रण तथा अप्रसार केन्द्रले इजरायलसँग अहिले करिब ९० वटा परमाणु अस्त्र रहेको अनुमान गरेको छ।
तर पनि इजरायलले आफ्नो परमाणु क्षमताबारे अस्पष्टताको नीति लिएको छ। अनि इजरायली नेताहरूले ‘मध्यपूर्वमा परमाणु अस्त्र भित्र्याउने इजरायल पहिलो देश नबन्ने; बताउँदै आएका छन्।
सन् १९७० यता १ सय ९१ राष्ट्रहरूले परमाणु हतियार अप्रसार सन्धि (एनपीटी)मा संलग्नता जनाएका छन्। यो सम्झौताको उद्देश्य परमाणु हतियारको फैलावट रोक्ने र निःशस्त्रीकरण प्रवर्द्धन गर्ने हो।
सन् १९६७ को ज्यानुअरी १ बाट सन्धि कार्यान्वयनमा आउनुअघि आणविक अस्त्र उत्पादन र परीक्षण गरेका अमेरिका, रुस, यूके, फ्रान्स र चीनलाई यस्तो अस्त्र राख्ने अनुमति छ।
इजरायल यो सम्झौताको पक्ष राष्ट्र होइन।
भनूनूलाई इजरायलमा देशद्रोही ठान्ने धेरै छन्। तर सन् २००४ मा उहाँ जेलमुक्त हुँदा उहाँका समर्थकहरूले भनूनूलाई ‘शान्तिका नायक’ भन्दै उत्सव मनाएका थिए।
जेलमुक्त भएपछि उहाँले बीबीसीलाई पहिलो अन्तर्वार्ता दिँदै आफूलाई कुनै ‘पश्चात्ताप नभएको’ बताउनुभएको थियो।
‘मैले गरेको जम्माजम्मी काम भनेको गुपचुप रूपमा के भइरहेको छ भनेर विश्वलाई जानकारी गराएको मात्रै हो। मैले इजरायल ध्वस्त बनाउने वा डिमोना नष्ट गर्ने कुरा गरेको होइन। मैले मात्रै उनीहरूसँग भएको कुरा सुनाएर मानिसहरूलाई मूल्याङ्कन गर्न छोडिदिएको हुँ।”


















