Prakash Adhikari June 23, 2025
काठमाडौँ, ९ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको सो बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका  केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाका साथै एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
काठमाडौँ उपत्यकाका नदीहरुमा जलसतह सतर्कता तह आसपास पुगेकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । मध्यरात भएको बर्षाका कारण विष्णुमति, बाग्मती र धोवीखोलामा जलसतह सतर्कता तहमा पुगेको र बढ्दो क्रममा रहेको विभागले जनाएको छ ।
विशेषगरी बाग्मती नदी (गौरीघाट) र धोवीखोला (चाबहिल) क्षेत्रमा पानीले सतर्कता तह नाघेको विभागले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्ने र नदी तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।
त्यसैगरी गोरखामा पनि भारी वर्षा भएकाले सावधानी अपनाउन विभागले सूचना मार्फत अनुरोध गरेको छ । मध्यरात भएको भारी बर्षाका कारण काठमाडौँका विभिन्न स्थानका सडक समेत जलमग्न भएका थिए ।
Share Now