Prakash Adhikari July 31, 2025

काठमाडौं, १५ साउन । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणमा रु.१००/– अंकित दरका ३०,००,०००(३०लाख) कित्ता शेयर जारी गर्न लागेको छ । जसको मूल्य रु.३०,००,००,०००÷(३० करोड) हुन आउछ ।

कम्पनीले साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

शेयर निष्काशक तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी संझौता हालै काठमाडौंमा सम्पन्न भएको छ । सो सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ ।

ग्लोबल इक्विटी फण्ड नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त नेपालको पहिलो प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरुमा संचालन हुने कम्पनीहरुमा पूँजी परिचालन गरिसकेको छ ।

यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरु हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स का साथै नेपालका चर्चित व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरी ले प्रवर्धन गर्नुभएको छ ।

Share Now