-विनिता दाहाल
संवाददाता, बीबीसी न्यूज नेपाली
काठमाडौं, १९ साउन । विद्यालय तहको अन्तिम खुट्किलो मानिने कक्षा १२ मा यो वर्ष परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमिततर्फ ६१.१७ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। त्यस्तै आंशिकतर्फ भने ३६.४९ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको हो।
विगत वर्षभन्दा यो वर्ष ९ प्रतिशतले नतिजामा सुधार भएको बोर्डले जनाएको छ।
एक शिक्षाविद्ले भने विद्यार्थीको नतिजामा आएको सुधार सकारात्मक भए पनि उनीहरूले लिएको शिक्षा उच्च अध्ययनका लागि कति उपयोगी हुन सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण रहेको बताउनुभयो।
शिक्षकहरूको आन्दोलनका कारण १० दिन पछाडि सरेको परीक्षा गत वैशाख २१ गतेदेखि सुरु भएको थियो।
परीक्षामा ५ लाख १० हजार ९ सय ८७ विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ३ लाख ९६ हजार ३ सय ४७ जना र आंशिकतर्फ १ लाख १४ हजार ९ सय ८७ जना सहभागी थिए।
विद्यार्थीले कुन श्रेणीमा कति ग्रेड ल्याए
यो वर्ष कुल २ लाख ८४ हजार ३ सय ५ विद्यार्थी ग्रेडेड वा उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको छ।
उहाँका अनुसार ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको सङख्या १३ हजार ५ सय २ रहेको छ भने ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको सङ्ख्या ५५ हजार ८ सय ९६ रहेको छ।
त्यस्तै २.८१ देखि ३.२० ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ९४ हजार २६८ रहेको छ। सबैभन्दा धेरै विद्यार्थी यही समूहमा रहेको शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ५९ हजार ८ सय १२ छ भने २.०१ देखि २.४० ल्याउने विद्यार्थीको सङ्ख्या ८ हजार ९ सय ६४ र सबैभन्दा कम १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थी २३ जना रहेका छन्।
“कुल ननग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीको सङ्ख्या १ लाख ९३ हजार ८ सय ८२ रहेको छ”, परीक्षाको नतिजाबारे बताउँदै शर्माले भन्नुभयो,”सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा ६६ हजार २ सय ७५ ननग्रेडेड भएका छन् त्यस्तै अकाउन्टिङमा ४१ हजार २ सय ६३ र सामाजिक शिक्षामा ३३ हजार ९ सय २१ ननग्रेडेड भएका छन्।”
त्यस्तै नेपालीमा २८ हजार ३ सय ५६ जना ुननग्रेडेडु भएका छन्।
उत्तीर्ण हुन नसकेका विद्यार्थीको भदौ २८ र २९ मा ग्रेड वृद्धि परीक्षा हुने बोर्डले जनाएको छ।
पोहोरभन्दा राम्रो !
विगतको वर्षको तुलनामा यो वर्ष ९ प्रतिशतले उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या बढेको छ।
त्यसको कारणबारे आफ्नो अनुमानमा विद्यार्थी स्वयं विद्यालय र स्थानीय तहकै भूमिका रहेको बोर्डका अध्यक्ष शर्माले बताउनुभयो।
“विशेष गरी २०७६ देखि लागु भएको पाठ्यक्रममा प्रश्नपत्रको मोडालिटी परिवर्तन भयो र त्यसमा ज्ञानमात्रै नभएर सङ्ज्ञानात्मक तहमा जुन किसिमको प्रश्नहरू सोध्ने जुन कुरा थियो, सुरुसुरुमा विद्यार्थी अभ्यस्त नभएको भए पनि यो वर्ष प्रश्नपत्रमा पनि सहज भयो भन्ने लाग्छ।”
शिक्षाविद् के भन्छन्?
शिक्षाविद् विद्यानाथ कोइरालाले भने विद्यार्थीको नतिजामा आएको सुधारभन्दा पनि कस्ता विद्यार्थी उत्पादन भए अनि उनीहरूले लिएको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान कस्तो छ भन्ने हेर्नुपर्ने बताउनुभयो।
विद्यार्थीले पास गर्नु आफैँमा राम्रो भए पनि उनीहरूले ‘गरी खानका लागि’ आवश्यक सीपयुक्त ज्ञान पाए कि पाएनन् भन्ने महत्त्वपूर्ण रहेको बताउनुभयो ।
“व्यावहारिक रूपमा विद्यार्थीले के कार्यान्वयन गर्न सकून् भने यही देशमा सम्भावना छ। हामी पढेर पनि खान सक्छौँ, गरेर पनि खान सक्छौँ ….. सिद्धान्त र व्यवहार अलगअलग होइन, एउटै कुराका दुइटा पाटा हुन् भन्ने बुझ्न सक्छौँ “, बीबीसीसँग बोल्दै उहाँले भन्नुभयो।
ूअहिलेको प्रविधिसँग हामी सिपालु छौँ। विश्लेषण गर्न पनि जान्दछौँ। सिर्जना गर्न पनि सक्छौँ भन्ने खालको तागत विद्यार्थीमा आउनुपर्छ भन्ने मैले देख्छु। ुत्यो तागत पुग्यो रु भन्ने प्रश्न गर्छु।ू
विद्यार्थीलाई चाहिने सीप ल्याउनका लागि मुख्य भूमिका शिक्षककै रहने उहाँले बताउनुभयो ।
शिक्षकले पाठ्यक्रममा भएका विषयवस्तु मात्रै नभई अहिलेको समय सुहाउँदो कुरा जोड्न सक्नुपर्ने उहाँको कथन छ।
“अहिलेको डिजिटल पुस्ताले यो खोज्यो भन्ने कुराको जानकार त शिक्षकले हो। शिक्षकको जिम्मेवारी हामीले स्पष्टसँग भन्नै सकेनौँ। हामीले भन्न सकेको भए त्यसले विद्यार्थीलाई एउटा निश्चित बाटोमा लैजान्थ्यो भन्ने लाग्छ।”
कसरी हेर्ने परीक्षाफल
परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मा र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np पनि हेर्न सकिने व्यवस्था गरिएको छ।
त्यसै गरी एसएमएस र टेलिफोनमार्फत् पनि नतिजा थाहा पाउन सकिने व्यवस्था परीक्षा बोर्डले गरेको छ।


















