बाजुरा, २९ साउनः बुधबार रातिको बाढीले यहाँको हिमाली गाउँपालिका–१ विच्छ्यामा १९ घर बगाएको छ ।
विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो । बाढीले १९ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार कवाडी प्रहरी चौकीको टोली बाढी प्रभावित क्षेत्रमा गएर तथ्याङ्क सङ्कलन गरेको हो । बाढीले सोही गाउँपालिका–१ का नरेन्द्रबहादुर बुढा, छञ्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा, गोवतल थापाको घर, पसल र खेतबारीमा क्षति पुगेको छ ।
सोही गाउँपालिका–५ का नवराज बुढा, देवीलाल चदारा, विरवल चदारा, अजय चदारा, हिउँसरा ल्वार, अङ्गविर चदाराको घर बगाएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिनुभयो । त्यसैगरी बलबहादुर चदारा, मुगा लुहार, देबीलाल बुढथापा, वीरभान लुहार र डवल लुहारको घर बगाएर लगेका प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
तथ्याङ्क सङ्कलनका क्रममा गाउँपालिका–१ कुमाल बगरका आठ परिवारको घर बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो । बाढीले कुमाल बगर बस्ने आइसिंह बोहरा, भीमराज बोहरा, सिमपानी बस्ने चन्द्रलाल, मनी बुढा र रविलाल बुढाको घर बगाएको प्रहरी निरीक्षक चौधरीले बताउनुभएको छ ।
बाढीले वीरसिंह बोहरा, धनरुप बोहरा, प्रबल बोहरा र सोही वडामा रहेको गोल्देमाणुदेखि टिन जोड्ने निर्माणाधीन झोलुङ्गे पुलका सामग्री बगाएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाइसकेको छ ।
बाढीका कारण यहाँका सात घर पूर्ण क्षति भएका छन् भने १७ घर पूर्ण जोखिम, सरकारी तथा आठ वटा सार्वजनिक कार्यालय जोखिममा परेका छन् ।
बाढीका कारण हिमाली गाउँपालिका–१ का विच्छ्याका सुजलाल थापा, धनसिंह थापा, जबैलाल थापा, धनबहादुर थापा, चन्द्रापति थापा, धर्मलाल थापा, बलचन्द्र थापाको घर जोखिममा छन् । स्थानीय उने थापा, लालसिंह बोहरा, डिलबहादुर थापा, हरिलाल थापा, भउरलाल थापा, चन्द्रवान थापा, रत्नपति थापा, गोबनल थापा, धर्मजीत थापा र लक्ष्मण थापाको घर पनि बाढीका कारण उच्च जोखिममा छन् ।
बाढीले सरकारी कार्यालय, विद्यालय र सार्वजनिक संरचनासमेतमा क्षति पुगेको छ । १ नम्बर वडा कार्यालय, विच्छ्या मावि, स्वास्थ्य चौकी, स्थानीय विद्युत लाइन् झोलुङ्गे पुल, नेटा र देउसैनको पानी घट्टसमेत जोखिममा छन् ।
बाढीले पु-याएको क्षतिको अवस्था अनुगमन गर्न गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल नेतृत्वको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । अध्यक्ष मल्लको टोलीले तीन वटै वडामा बाढीले पुर्याएको क्षतिको अवस्था र प्रभावितको अवस्था बुझ्न विच्छ्या गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले बताउनुभयो ।
बाढी प्रभावितलाई सुरक्षित ठाउँ सारिएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभएको छ । अहिले पनि वर्षा भइरहेकाले बाढीको जोखिम अझै रहेकाले प्रभावितलाई सुरक्षित रहन र बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभएको छ ।
उनीहरुलाई राहत वितरण र पुनःस्थापनाका लागि काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।


















