
ललितपुर, २३ साउन । नेपाली कांग्रेसले आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघलाई मंसीर २ गतेभित्र नियमित अधिवेशन गर्न निर्देशन दिएको छ ।
नेपाल विद्यार्थी संघको संस्थापन पक्षल नियमित अधिवेशन गर्ने चासो नदेखाएपछि असन्तुष्ट पक्षले अधिवेशन गर्ने तयारी समिति गठन गरिसकेको छ ।
पार्टीको जुझारु र युवा संगठनमा विवाद उत्पन्न भएपछि आन्तरिक संगठन र महाधिवेशनेलाई सहजीकरण गर्न नेपाली कांग्रेसद्वारा गठन गरिएको संयन्त्रको बुधबार बसेको बैठकले नेपाल विद्यार्थी संघको नेतृत्वलाई सो निर्देशन दिएको हो ।
विवाद समाधान र महाधिवेशन सहजीकरणका लागि पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा रहेको संयन्त्रको बैठकपछि नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ , ‘नेपाल विद्यार्थी संघको विधान अनुसार निर्वाचित भएको मितिले भाद्र २, २०७५ मा केन्द्रीय कार्यसमितिको कार्यकाल पुरा हुँदैछ । यस बिचमा अधिवेशन हुन सक्ने गरि प्रयाप्त तयारी नभइसकेको सन्दर्भमा विधानमा उल्लेखित प्रावधान अनुसार विशेष परिस्थितिमा तीन महिना थप गर्न सकिने व्यवस्था लागु गर्नुपर्ने आवश्यकता अनुरुप विधानतः उक्त समयभित्र महाधिवेशन सम्पन्न गर्न सकिने आधार सहितको कार्ययोजना भाद्र २ को मितिभित्र पेश गर्न नेपाल विद्यार्थी संघका सभापतिमार्फत केन्द्रीय समितिलाई निर्देशन गरिन्छ ।’