Prakash Adhikari August 18, 2025

काठमाडौं, २ भाद्र । नेपाल आयल निगमका कर्मचारीहरुले दैलेखमा भेटिएको मिथेन ग्याँसको उत्खनन्, प्रशोधन र विक्री वितरणको काममा अग्रसरता लिन निगम व्यवस्थापनलाई सुझाव दिएका छन् ।

नेपाल आयल निगमअन्तर्गतको स्वतन्त्र कर्मचारी युनियनले निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टलाई गत हप्ता(साउन २७ गते मंगलबार) ७ बुँदे ज्ञापन पत्र बुझाउँदै दैलेखको भैरवी गाउँपालिकाको जलजलेमा पेट्रोलियम पदार्थ उत्खननको क्रममा पाइएको मिथेन ग्यासको व्यवसायिक उत्पादनको स्वामित्व ग्रहण गर्न आग्रह गरेका हुन् ।

युनियनका अध्यक्ष विकाश बखतीको नेतृत्वमा गएको कर्मचारी टोलीले कार्यकारी निर्देशक भट्टलाई स्वदेशमा पाइएको मिथेन ग्यासको व्यवसायिक उत्पादन र बजारीकरण निगमको नेतृत्वमा हुनुपर्ने माग राखेको हो । निगम नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गर्न स्थापना भएको संस्था भएकोले पेट्रोलियम पदार्थ मिथेन ग्यासको उत्पादनमा लगानी गर्नु यसको उद्देश्य अनुरुप नै हुने कर्मचारीहरुको तर्क छ ।

दैलेखको ग्यास अन्वेषण गर्न आएको चिनिया प्राविधिकहरुको टोलीले काम सम्पन्न गरी प्रारम्भिक अध्ययन प्रतिबेदन सरकारलाई बुझाई सकेको छ । उक्त प्रारम्भिक प्रतिवेदन अनुसार हाल उत्खनन भएको कुवामा ११२ अर्ब घनमिटर प्राकृतिक मिथेन ग्यास भण्डारण रहेको पुष्टि भएको र त्यस क्षेत्रमा रहेका अन्य कुवामा समेत गरी कुल ४३० अर्ब घनमिटर ग्यास भण्डारण हुने प्रक्षेपण गरिएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार यो परिमाणमा रहेको ग्यासबाट नेपालको आवश्यकतालाई कम्तिमा ५० वर्षसम्म पुरा गर्न सकिने औंल्याइएको छ । अहिलेसम्म नेपालमा खाना पकाउन तथा केही औद्योगिक प्रयोजनका लागि आवश्यक एलपी ग्यास निगममार्फत भारतबाट आयात हुँदै आएको छ ।

डिजेल,पेट्रोल र मट्टितेलमा स्वचालित मूल्य प्रणाली लागू गरेको आयल निगमले एलपी ग्यासमा भने घाटा खाएर नेपाली उपभोक्तालाई आपूर्ति गर्दै आएको छ । एलपी ग्यासको आपूर्तिमा वार्षिक अर्बौं रकम नेपालबाट बाहिरिने गरेको त छँदै छ । यसको आपूर्ति श्रृखला कायम राख्दा निगमलाई पनि यसको व्यापारमा बर्षेनी ठूलो नोक्सानी हुँदै आएको छ ।

स्वदेशको ग्यास भण्डारको उत्खनन्, प्रशोधन र बजारीकरणको काम निगमले लिने हो भने ग्यास आयातमा बाहिरिएको अर्बौको राष्ट्रिय सम्पत्ति जोगिन्छ । ग्यासको मूल्य निर्धारणमा निगमको हक स्थापित हुन्छ । घाटा खाएर ग्यास बेच्ने झन्झटबाट निगम मुक्त हुन्छ ।

निगम स्वतन्त्र कर्मचारी युनियनले निगमको उद्देश्यमा सम्भाव्य तेल खानी र ग्याँस उत्खनन, अन्वेषण गराउने उद्योग स्थापना गर्ने भन्ने विषय समावेश गरिएकाले निगमको एकल स्वामित्वमा वा निगमले रणनीतिक साझेदारसहितको कम्पनी स्थापना गरी ग्यास उत्खनन तथा व्यवसायिक कारोबार गर्न सकिने सुझाव दिएको छ ।

युनियनले दैलेखमा पाइएको मिथेन ग्यास उत्खनन र व्यवसायीकरणको लागि पूर्ण सरकारी स्वामित्वको निगम उपयुक्त हुने सुझाव दिँदै यो विषयमा सरकारसँग अबिलम्ब पहल गरी निगमबाटै ग्यास उत्खनन र बजारीकरणको व्यवस्था सुनिश्चित गर्न माग गरेको छ ।

कर्मचारीहरुले यस कार्यलाई सम्पन्न गराउन निगम व्यवस्थापनलाई अन्य उपाय पनि सुझाएका छन् । उनीहरुले निगमकै स्वामित्वमा स्वदेशी लगानी र प्राविधिक जुटाएर पनि गर्न सकिने पहिलो विकल्प पनि राखेका छन् । उनीहरुले आवश्यकता अनुसार रणनीतिक साझेदार ल्याएर पनि गर्न सकिने अर्को विकल्प पनि देखाएका छन् भने निगमकै सहायक कम्पनीमार्फत ग्यास उत्खनन र बजारीकरण गर्ने सकिने अर्को उपाय पनि सुझाएका छन् । ।

युनियनले ग्यास उत्पादन,प्रशोधन र बजारीकरणको जिम्मेवारी लिनुपूर्व आफ्नो अनुभव, जनशक्ति र पूर्वाधार तयार पार्ने कामको थालनी गर्न पनि व्यवस्थापनलाई सुझाव दिएको छ । जस अन्तरगत मिथेन ग्यासको प्रयोगका क्षेत्रहरु पहिचान गरी सोहिअनुसार बजार रणनीति तय गर्नका लागि अध्ययन गर्न तत्काल समिति गठन गरी कार्य अघि बढाउन र निगमको स्वामित्व सुनिश्चित गरी निगममा कार्यरत प्राविधिक जनशक्ति, पूर्वाधार तथा अनुभवको उपयोग गरी ग्यासको उत्खनन र प्रशोधन गरी बजारीकरण गर्न चरणवद्ध कार्ययोजना तयार अनुरोध गरिएको छ ।

युनियनले प्राकृतिक मिथेन ग्याँस उत्खनन, प्रशोधन गरी बजारीकरणका लागि पूर्वआवश्यक समग्र प्राविधिक, वित्तीय, कानूनी तथा व्यवसायिक सम्भाव्यता अध्ययनका लागि निगमले तत्कालै प्रक्रिया अघि बढाउनुपर्ने, प्राकृतिक मिथेन ग्यासलाई स्वच्छ उर्जाको पहलको प्रमुख आधार स्तम्भको रुपमा अघि बढाउन र निगमको स्वतन्त्र सहायक कम्पनी वा रणनैतिक साझेदारसहितको निगमको स्वामित्वमा सहायक कम्पनी स्थापना गर्न मिथेन ग्यास उत्पादन, प्रशोधन, ढुवानी र बिक्री बितरण गर्ने संरचना तयार गर्ने बिषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन तयार पार्न कार्यदल गठन गर्न पनि निगमसँग माग गरेको छ ।

ग्यासको आयतन र नेपाललाई पुग्ने समयावधि

चिनिया प्राविधिक टोलीको अन्वेषणमा पहिलो कुवामा प्राकृतिक ग्यासको मात्रा पुष्टी भएको छ र बाँकी तीनवटा कुवाको बारेमा प्रारम्भिक प्रक्षेपण गरिएको छ । त्यसलाई मुलुकको खाना पकाउने ग्यासको मागसँग जोडेर तुलनात्मक विश्लेषण गर्दा यो ग्यासलाई नेपाली जनताले कम्तिमा ६ सय वर्षसम्म खाना पकाउने ग्यासको रुपमा उपभोग गर्न पाउने छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार नेपालमा हाल वार्षिक ५ लाख ४० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यासको माग र खपत भइरहेको छ । यसमध्ये झण्डै करिब ४० प्रतिशतका दरले काठमाडौं उपत्यका र ६० प्रतिशत उपत्यकाबाहिर खपत हुन्छ ।

अहिलेकै अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा नेपालका सरदर वार्षिक ५३ अर्बदेखि ६० अर्ब रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भइरहेको छ । निगमले यो ग्यास प्रतिसिलिण्डर २५० रुपैयाँहाराहारीमा घाटा व्यहोरेर उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ ।

यसले गर्दा यो ग्यास बिक्री गर्दा निगमले वार्षिक रुपमा १० अर्ब रुपैयाँबराबरको घाटा व्यहोर्दैआएको छ । नेपालमा मासिक ३० लाख सिलिण्डरको खपत हुन्छ ।

पहिलो कुवामा पाइएको ११२.१ अर्ब घनमिटर ग्यासलाई अहिलेकै विद्यमान मागअनुसार खाना पकाउने ग्यासको रुपमा विश्लेषण गर्दा १ सय ४६ वर्षसम्मलाई उपभोग गर्न मिल्छ । तर खाना पकाउने ग्यासको माग बढ्दै गएपछि उपभोग अवधि भने केहि घट्न सक्छ । नेपालीको आयस्तर बढ्दै जानु,सडक यातायातको सुविधा बढ्नु र स्वच्छ ऊर्जाप्रतिको मोह बढ्दै जानुले ग्यासको उपयोगिता बर्षेनी बढ्दै गएको छ ।

चिनियाँ अध्ययन टोलीले अध्ययन पश्चात् प्रक्षेपण गरेअनुसार ४ वटै कुवाबाट ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास प्राप्त हुनेछ । अहिलेको मागको आधारमा यो परिमाणले ५ सय ६२ वर्षसम्म खाना पकाउने ग्यासको माग धान्छ ।

केमिकल इन्जिनियर तथा नेपाल आयल निगमका पूर्वनायब कार्यकारी निर्देशक सुशील भट्टराईले खाना पकाउने ग्यासको रुपमा दैलेखको मिथेन ग्यासको प्रयोग गर्दा आयातमा विदेशिएको रकम जोगिएर नेपाल निक्कै धनी हुन सक्ने दावी गर्नुभयो ।

प्राकृतिक ग्यास उत्पादन र प्रशोधनका ज्ञाता उहाँले दैलेखको प्राकृतिक ग्यासलाई प्रशोधन गरेर उपभोगयोग्य बनाउन करिब डेढ खर्बको लगानी चाहिने बताउनुभयो ।

उहाँका अनुसार मिथेन ग्यासको आयतनलाई  हाल उपयोग भइरहेको एलपी ग्यासको आयतन, उपभोग र खपतसंग तुलना गरेर समयावधि किटान गर्न अनुपयुक्त हुँदैन । एलपी ग्यासको तुलनामा मिथेन ग्यासको प्रेसर बढी हुन्छ । १६ किलोको एलपी ग्यास सिलिण्डरमा भएको १४ किलो ग्यासले ६ बार(किलो)बराबरको प्रेसर दिन्छ भने त्यति नै मिथेन ग्यासले २ सयदेखि २ सय ५० बारसम्मको प्रेसर दिन्छ । त्यसैले १६ किलोको ग्यास सिलिण्डरमा २ सयदेखि ३ सय ग्राममात्रै मिथेन हाल्न मिल्छ । यसलाई प्रेसराइज गरेर लिक्विड पनि बनाउन मिल्छ । ६ सय लिटर मिथेन ग्यासलाई प्रेसराइज गर्दा १ लिटर लिक्विफायर ग्यास बन्छ । प्राकृतिक ग्यासबाट विभिन्न प्रक्रियामार्फत कम्प्रेस्ड नेचुरल ग्यास(सीएनजी), लिक्वीफायड नेचुरल ग्यास(एलएनजी), लिक्वीफायड पेट्रोलियम ग्यास(एलपीजी), हाइड्रोजन फ्युल सेल समेत तयार गर्न सकिन्छ । तर यसका लागि थप लगानी आवश्यक हुन्छ । मिथेन ग्यास अन्तराष्ट्रिय बजारमा एलपी ग्यासभन्दा आधै सस्तो पर्ने बताइन्छ ।

Share Now