
अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको अवमूल्यन भई मङ्गलवार अहिलेसम्मकै न्यून विन्दुमा पुग्दा व्यापार घाटा अझै बढ्ने डरलाग्दो अवस्था रहेको अर्थविद्हरूले चेतावनी दिएका छन्।
देशमा भित्रने विप्रेषण, वैदेशिक लगानी, निर्यात र पर्यटनमार्फत् नेपाली अर्थतन्त्रलाई फाइदा पुर्याउने सम्भावना रहे पनि ठूलो मात्रामा डलरमा हुने आयातले अर्थतन्त्रका लागि जोखिम उत्तिकै रहने उनीहरूको चिन्ता छ।
नेपाल राष्ट्र ब्याङ्कका अनुसार मङ्गलवार एक अमेरिकी डलर बराबर ११२ दशमलव २० रुपैयाँमा झरेको छ।
टर्कीको मुद्रा लिराको गिरावटका कारण उत्पन्न त्रासले भारतसहितका उदाउँदा अर्थतन्त्रका मुद्रामा परेको असरले नेपाली रुपैयाँमा पनि प्रभाव परेको बताइएको छ।
अनुबन्धन
नेपाली रुपैयाँ भारुसँग स्थिर विनिमय प्रणालीमा बाँधिएको छ।
अमेरिकासँग तनाव बढ्दै गएपछि टर्कीको लिराको भाउमा आएको गिरावटका कारण आज भारुले एशियाली मुद्राहरूमध्ये सबैभन्दा खराब प्रदर्शन गर्यो।
एक डलरको तुलनामा भारु ७०.०७ को विन्दुमा पुगेको छ जुन अहिलेसम्मकै न्यून हो। त्यसकै सीधा प्रभाव नेपाली रुपैयाँमा परेको छ।
अमेरिका र टर्कीको तनाव कायम रहे नेपाली मुद्रामा लामो समय प्रभाव रहिरहन सक्ने नेपाल राष्ट्र ब्याङ्कका एक वरिष्ठ अधिकारी बताउँछन्।
राष्ट्र ब्याङ्कका विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगाना भन्छन्, “यही कारणले लामो समय जाँदैन। तर यो बिग्रिँदै गयो, टर्की र अमेरिकाबीच व्यापार युद्ध नै भयो र व्यापारको लहर रूसतिर मोडियो भने त्यसले दीर्घकालिन असर पार्नसक्छ।”
बलियो डलर
पछिल्ला तथ्याङ्कहरूले भने अमेरिकी अर्थतन्त्रले मुद्रास्फीति बाहेकका अन्य सूचकहरूमा राम्रो प्रदर्शन गरिरहेको र उसको माग उच्च रहेको देखाएका छन्।
तर आफ्नो व्यापार र उद्योगको एउटा ठूलो हिस्सा टर्कीमा राखेका युरोपेली मुलुकका मुख्य मुद्रा युरो र पाउन्ड स्टर्लिङको पनि अवमूल्यन भइरहेको छ।
यद्यपि यो उतारचढाव नेपालको नियन्त्रणमा नरहेकाले उसले फाइदाका क्षेत्रहरू पहिचानमा जोड दिनुपर्ने अर्थशास्त्रीहरू बताउँछन्।
अर्थशास्त्री केशव आचार्यको भन्छन्, “नत्र यसले जनतालाई महँगी, सरकारलाई विदेशीको ऋण र डलरमै खरिद हुने विद्युत्को मूल्यसम्ममा असर पारेर व्यापार घाटाको अवस्था झनै दयनीय हुनसक्छ।”
निर्यातलाई प्रोत्साहन दिनसकिने क्षेत्रमा सरकारले त्यसो गर्नुपर्ने र आयात घटाउनेबारे सोच्नुपर्ने उनीहरूको मान्यता छ।
‘आत्तिनु पर्दैन’
अहिले विदेशमा रहेका नेपालीहरूले पठाउने विप्रेषण आय (रेमिट्यान्स) यस्तै बेला बढी भित्रने प्रवृत्ति रहेकोले त्यसले नेपाललाई फाइदा हुनसक्ने अर्थशास्त्रीहरूको धारणा छ ।
राष्ट्र ब्याङ्कसँग समेत अहिले डलर सञ्चयको अवस्था बलियो रहेकोले तत्काल धेरै चिन्तित नहुनुपर्ने उनीहरूको भनाइ पाइन्छ।
तर विप्रेषण कमजोर भएको अवस्थामा यस्तो अवमूल्यनले नेपालको अर्थतन्त्रलाई फाइदा नगर्ने उनीहरू बताउँछन्।
अर्थशास्त्री शंकर शर्मा भन्छन्, “यसले धेरै नकारात्मक प्रभाव भन्दा थोरै सकारात्मक प्रभाव पार्छ भन्ने मलाई लाग्छ। अहिलेको परिवर्तन निकै ठूलो पनि होइन।”
यस्तो बेला भारतसँग रहेको नेपालको मुद्रा अनुबन्धनलाई लिएर पुर्नविचार गर्नुपर्ने कुराहरू उठ्ने गर्छन्।
तर भारतसँग रहेको ठूलो व्यापार र अनौपचारिक अर्थतन्त्रले गर्दा त्यसो गर्नु झन् बढी प्रत्युत्पादक हुनसक्ने एकथरी विज्ञहरू बताउँछन्।
तीन फाइदा र तीन बेफाइदा
एक वर्षअघि असार मसान्तमा एक अमेरिकी डलर बराबर १०२.८६ रुपैयाँ रहेको थियो। अहिले त्यो अवमूल्यन भएर १०९.६८ रुपैयाँ पुगिसकेको छ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ। त्यसैले केही समययता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्य समेत घट्यो।
एक साता अगाडि डलरको तुलनामा भारु हालसम्मकै न्यूनतम विन्दुमा ओर्लियो। त्यतिखेर गत बिहीवार नेपाली रुपैयाँको दर पनि हालसम्मकै उच्च ११०.३८ पुग्यो।
त्यसपछि त्यसको भाउ केही सम्हालिए पनि धेरै सुधार हुन सकेको छैन।
विश्वव्यापीकरण, आर्थिक उदारीकरण, आयात-निर्यात, जनस्तरको सम्पर्क र आवतजावत जस्ता विषयका कारण डलरको भाउमा हुने उतारचढावका सोझा असर नेपाली अर्थतन्त्रमा पनि पर्ने गर्छ।
त्यस्तो असर असल र खराब दुवै किसिमका हुने गर्छन्।
केही विज्ञहरूसँग कुरा गरेर हामीले डलरको तुलनामा नेपाली रुपैयाँ खस्कँदा हुने केही फाइदा र बेफाइदाबारे जानकारी बटुलेका छौँ।

फाइदा
१) निकासी: नेपाली रुपैयाँको भाउ सस्तो हुँदा नेपाली निकासी वा सामानको भाउ अन्तर्राष्ट्रिय आयातकर्ताहरूको निम्ति आकर्षक हुन पुग्छ र निकासीलाई यसले टेवा पुग्न सक्छ।
तर नेपालको निर्यात वा निकासी सीमित छ।
राष्ट्र ब्याङ्कको पछिल्लो विवरणमा नेपालले गत १० महिनामा ६६ अर्ब रुपैयाँ चानचुनको मात्र निकासी गर्न सकेको देखिन्छ।
त्यसैले निकासीको परिमाण र वस्तु सीमित भएकाले यसबाट हुने फाइदा पनि स्वाभाविक रूपमा सीमित नै हुने देखिन्छ
२) पर्यटन आय: विदेशी मुद्राको भाउ बढ्दा त्यसले पर्यटनमार्फत् हुने आम्दानी बढाइदिन्छ।
नेपाली मुद्रा सस्तो हुँदा डलर खर्च गर्ने पर्यटकलाई यहाँ आउन खर्चको हिसाबले थप प्रोत्साहन मिल्छ। पर्यटनको योगदान नेपाली अर्थतन्त्रमा बहुआयामिक हुने गर्छ।
देशको विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोतमात्र नभई यसले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा ठूलो योगदान पुर्याउँछ।
लगानी गर्न खोज्नेहरूलाई पनि कमजोर नेपाली मुद्राले केही प्रोत्साहन मिल्न सक्छ।
३) विप्रेषण आय: लाखौँ नेपालीहरू विदेशमा काम गर्छन्। कैयौँले त्यहाँ कमाएको पैसा विदेशी मुद्रामा नेपाल पठाउँछन्।
उनीहरूको हकमा डलरको भाउ बढ्दा नेपाल पठाउने पैसाको परिमाण बढ्न सक्छ।
विप्रेषण आयमा हुने वृद्धिले समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पर्छ। पछिल्लो दश महिनाको आँकडामा विप्रेषण आय छ खर्ब रुपैयाँ नाघेको देखिन्छ। जबकि रोजगारका लागि जाने कामदारको सङ्ख्या केही घटेको छ।
नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर कायम गरिएकाले भारुको अवमूल्यन हुँदा नेपाली रुपैयाँको भाउ पनि खस्किन्छ
बेफाइदा
१) आयात:
नेपालले गत १० दश महिनामा ६६ अर्ब रुपैयाँ बराबरको निर्यात र १० खर्ब रुपैयाँको आयात गरेको छ।
डलरको भाउ बढ्ने बित्तिकै विदेशी मुद्रा खर्च गरेर गरिनुपर्ने आयातको मूल्य स्वत: बढ्छ। उसै त कहालीलाग्दो स्थितिमा रहेको व्यापार घाटा त्यसो हुँदा झन् बढ्छ।
यो घाटाको अर्को नराम्रो असर चालु खाता तथा शोधनान्तरमा पर्छ। विदेशी मुद्राको सञ्चितिपनि घट्छ।
अहिले नै यो सञ्चितिमा चाप पर्न थालेको देखिन्छ। पछिल्लो विवरणमा शोधनान्तर घाटा करिब १९ अर्ब पुगिसकेको छ।
२) महँगी:
डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महँगो हुन पुग्छन्। सियोदेखि गाडीसम्म आयातमा निर्भर नेपालको निम्ति यो ठूलै बेफाइदा हुन्छ।
नेपालको झन्डै ७० प्रतिशत व्यापार भारतसँग हुने गर्छ। तर भारतमै पनि भारु सस्तो हुँदा हुने महँगी यता सर्न सक्छ। इन्धनको मूल्य चर्को हुन सक्छ।
३) विद्यार्थी शुल्क:
दशौँ हजार नेपाली विद्यार्थी विदेशमा पढ्न गएका छन्। उनीहरूले त्यहाँ विदेशी मुद्रामा पैसा तिर्नुपर्छ।
डलरको भाउ बढ्नेबित्तिकै त्यसले ती विद्यार्थीको परिवारमाथि एक्कासि आर्थिक बोझ थपिन्छ।
राष्ट्र ब्याङ्कका अनुसार यसै आर्थिक वर्षमात्रै विद्यार्थीका कारण ४० अर्ब रुपैयाँ बराबरको रकम बाहिरिन सक्छ। डलरको भाउ बढ्दै गए यसमा चाप पर्छ।
नेपालको अर्थतन्त्रको प्रकृति जस्तो छ त्यो हेर्दा डलरको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा नै बढी हुने विज्ञहरूले बताएका छन्।
अर्को प्रमुख बेफाइदा चाहिँ नेपालले विदेशी मुद्रामा लिएको ऋणको परिमाण डलरको भाउ बढेसँगै बढ्छ। विदेशी ऋणको सावाँ र ब्याज तिर्न भनी बजेटमा छुट्ट्याएको रकम अपुग हुनसक्छ।