Prakash Adhikari December 6, 2025
झापा, २० मङ्सिरः अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले ६–२५, १५–२५ र १७–२५ को सोझो सेटमा आर्मीलाई पराजित गरेको हो ।
खेलको ‘प्लेयर अफ दी म्याच’ पुलिसकी एलिसा मानन्धर भइन् । उनले नगद पाँच हजार र ट्रफी प्राप्त गरेकी छिन् । प्रतियोगिताअन्तर्गत अन्तिम सेमिफाइनल खेल आजै समूह ‘ए’ को विजेता एपिएफ र समूह ‘बी’ को उपविजेता न्यु डायमन्डबीच भएको छ ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल आइतबार हुने सहआयोजक लक्ष्मी माविका अध्यक्ष वीरबहादुर राईले बताएका छन्। । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।
प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिएका छन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार पाउँदा, प्रत्येक दिनको ‘प्लेयर अफ दी म्याच’ले रु पाँच हजार सहित ट्रफी प्राप्त गर्नेछन् । बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले जनही रु १० हजार र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताएकी छिन् ।
Share Now