Prakash Adhikari December 10, 2025

कीर्तिपुर(काठमाडौं), २४ मंसिर । काठमाडौंको कीर्तिपुरमा भैरहेको नेपाल प्रिमियर लिग अन्तरगतको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ।‌

टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो।

एनपीएलको दोस्रो संस्करणमा पहिलो इनिङमा बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि चितवन राइनोजले पोखरा एभेन्जर्स विरुद्ध १ सय २० रन बनाएको थियो।

काठमाडौं गोर्खाजका लागि आजको ब्याटिड. अनुभव निकै निराशाजनक रह्यो । शेर मल्लले दोस्रो ओभरको पहिलो बलमा १ रन बनाएका आकाश त्रिपाठीको विकेट लिए। रोहितले क्याच लिए ।
तेस्रो ओभरको पहिलो बलमा रुबेन ट्रम्पलम्यानले ५ बलमा ७ रन बनाएका सन्नी पटेललाई एलबिडब्लु आउट गरे।

३.५ ओभरमा ८ बलमा २ रन बनाएका मिलिन्द कुमारलाई शेरले बोल्ड गरे। ट्रम्पलम्यानले ४.१ ओभरमा ४ रन बनाएका बेन चाल्सवर्थको विकेट लिए।

काठमाडौंले पावर प्लेमा ४ विकेट गुमाउँदै जम्मा २९ रन बनायो।

कप्तान रोहित पौडेलले ९.१ ओभरमा १४ रन बनाएका भीम सार्कीको विकेट लिए। रोहितले ९.५ मा १८ रन बनाएका जोन सिम्सनलाई पनि एलबिडब्लुमा आउट गरे।

काठमाडौंले १० ओभरमा ६ विकेट गुमाउँदै ५१ रन जोड्यो । रोहितले ११.१ ओभरमा २ रन बनाएका रसिद खान लाई जेजे स्मिथबाट क्याच गराए।

शेर मल्लले १३.३ ओभरमा मा मोहम्मद आदिल आलमलाई १८ रनमा बोल्ड गरे।‌ त्यसपछि ब्याटिड. गरेका करण के.सी. १६.५ ओभरमा अभिषेश गौतमको बलमा ९ रनमा क्याच आउट भए।

टोलीका लागि सर्वाधिक २३ रन बनाएका सन्तोष यादव १९.१ ओभरमा अन्तिम विकेटका रुपमा आउट भए ।

काठमाडौंलाई कम योगफलमा रोक्न लुम्बिनीका शेर मल्ल र रोहित पौडेलले समान ३ ३ , ट्रम्पलम्यानले २ र अभिषेशले १ विकेट लिए।

यस अगाडि नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँले टस जितेसँगै लुम्बिनी लायन्सलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो ।
मोन्टी देसाईंको नेतृत्वमा रहेको काठमाडौँले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले खेलको सात खेलमध्ये पाँच खेलमा जित हासिल गरेको छ । नेट रनरेटमा पछि परेपछि काठमाडौँ पहिलो क्वालिफायर खेल्नबाट वञ्चित भएको हो ।
यता लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरण प्रवेश गर्न सफल भएको हो । लुम्बिनीले खेलेको सात खेलमा चार खेलमा विजयी हासिल गरेको थियो । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
काठमाडौँ गोर्खाजको प्लेइङ एघारमा कप्तान करण केसीसहित आकाश त्रिपाठी, आदिल अन्सारी, शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, वेन चाल्र्सवेथ, मिलिन्द कुमार, सनी पटेल र जोन सिमसन छन् ।
त्यसैगरी, यता लुम्बिनी लायन्सको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, सन्दीप जोरा, दिलीप नाथ, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी सर्ट छन् ।
आजको खेल‌ जित्ने टोली भोलि विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ। सुदूरपश्चिम रोयल्ससँग हिजो क्वालिफायर वानमा हारेपछि विराटनगरले क्वालिफायर टु खेल्नुपर्ने भएको हो।
Share Now